नेयमारको गोलमा पिएसजी विजयी, आर्सनलद्वारा चेल्सी पराजित

नेयमारको गोलमा पिएसजी विजयी, आर्सनलद्वारा चेल्सी पराजित


स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरिएन्टलाई २-१ अन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ५३औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टले १-१ को बराबरी गर्‍यो ।

८१औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा छ । लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा छ ।

यस्तै, इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सीलाई १-० अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा फर्किएको छ ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा ग्राबियल मेघाल्हेसले ६३औं मिनेटमा गरेको निर्णायक गोलमा आर्सननले चेल्सीमाथि १-० को अवे जित हासिल गर्‍यो ।

जितपछि आर्सनल १३ खेलमा ३४ अंक जोड्दै प्रिमियर लिग अंक तालिकाको शीर्ष फर्किएको छ ।

जारी सिजनमा लय गुमाएको चेल्सी भने २१ अंकमा सीमित हुँदै सातौं स्थानमा झरेको छ ।