मतदातासमक्ष पुग्ने बेला पितृशोकमा उम्मेदवार थपलिया

मतदातासमक्ष पुग्ने बेला पितृशोकमा उम्मेदवार थपलिया


आगामी मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट बागमती प्रदेशसभा सदस्यका उम्मेदवार रहेका इ. गजेन्द्र प्रसाद थपलियालाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ तथा बुद्धिजीवि परिषदका महासचिवसमेत रहेका धादिङ प्रतिनिधिसभा १ को प्रदेशसभा २ का उम्मेदवार थपलियाका बुबा शिवप्रसाद थपलियाको ८९ वर्ष उमेरमा यही कार्तिक १६ गते मृत्यु भएपछि थपलिया हिन्दु संस्कारअनुसार काजक्रियामा बसेका छन् ।

थपलियासँग सत्ता गठबन्धनका साझा उम्मेदवार शालिकराम जमरकटेलले प्रतिष्पर्धा गरिरहेका छन् भने उनी आफ्ना दलबलसहित मतदातासमक्ष पुगिरहेका छन् । तर, पितृशोकमा परेका थपलिया भने काजक्रियामा बस्नुपरेको छ । तथापि, प्रतिनिधिसभाका उम्मेदवार भुमि त्रिपाठीका साथ घरदैलोमा हिँडेका एमाले नेता तथा कार्यकर्ताहरुले ‘काम गर्ने पार्टीले हो’ भन्दै प्रदेशसभाका उम्मेदवार थपलियाका लागि भोट माग्दै हिँडिरेहका छन् । कात्तिक २८ गते थपलिया पनि काजक्रिया सकाएर मैदानमा उत्रने छन् ।

चुनावी मैदानमा आफैमा नयाँ अनुहार रहेका थपलियाले पितृशोक तथा काजक्रियाकै क्रममा पनि टोलटोलका कार्यकर्ताका साथै मतदाताको नम्बर खोजेर फोनमार्फत आफ्ना कुराहरु राखिरहेका छन् । एमालेको गढ मानिने धादिङमा पार्टी फुटको कारण एमालेलाई जितको चुनौती छ, तर फुटको असर पर्न नदिन एमाले कार्यकर्ताहरु लागिपरेका बताइएको छ ।