मंगलबार चन्द्रग्रहण : भरणी नक्षत्र र मेष राशिलाई कष्ट

मंगलबार चन्द्रग्रहण : भरणी नक्षत्र र मेष राशिलाई कष्ट


‘बाल, वृद्ध र बिरामीबाहेकलाई बिहान ०८:११ बजेदेखि भोजन निषेध’

भोलि (कात्तिक २२, मङ्गलबार) लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’मा उल्लेख गरिएको छ ।

यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् ।

कात्तिक २२ गते बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ ।

बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमको भनाइ छ ।

कात्तिक २२ गते मङ्गलबार बिहान ०८:११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने जनाइएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।