चुनावी मैदानमा चर्का भाषण असान्दर्भिक : चौधरी

चुनावी मैदानमा चर्का भाषण असान्दर्भिक : चौधरी


  • आरपी उपाध्याय, नवलपरासी

नेपाल दलित संघ पश्चिम नवलपरासीको कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम बर्दघाट-७ जिमिरेभारमा सम्पन्न भएको छ । दलितहरुको भेलामा दलितहरुले उठाएका मागउपर राज्य पुर्ण रुपमा गम्भीर नभएको दलित अगुवाहरुले बताए।

पश्चिम नवलपरासीमा १७ प्रतिशत दलितहरुको बासोबास भएको अवस्थामा दलितलाई संघको मागबमोजिमको अधिकार सुनिश्चित गरिनुपर्ने उद्घोष गरिएको थियो।

भेला एवम प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विनोदकुमार चौधरीले दलित समुदायले उठाएको माग न्यायसङ्गत भएकोले उक्त माग पूरा गराउनेतर्फ आफू पुर्ण प्रतिबद्ध रहने धारणा राखेका थिए । उद्योगपतिसमेत रहेका चौधरीले चुनावी मैदानमा उठाउने चर्का र असान्दर्भिक भाषण भन्दा पनि वास्तविक धरातलमा आएर नागरिकलाई सफा र पारदर्शी मुद्दा उठान गर्ने बेला भएको तर्क गरे । निर्वाचनमा हारजितको परिणाम जेजस्तो भएपनि नेताको परम कर्तव्य शोषितपीडित नागरिकलाई न्याय दिने र सत्य बोल्ने हुनुपर्ने धारणा चौधरीले राखेका थिए ।

दलित संघ पश्चिम नवलपरासीका अध्यक्ष मोहनप्रसाद बिकको अध्यक्षतमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेस बाग्मती प्रदेशका माहामन्त्री राजु श्रेष्ठ, प्रदेशसभा सदस्य पदका उम्मेदवार देवकरण कलवार, समानुपातिक उम्मेदवार लालबहादुर गुरुङ, दलित संघका उपाध्यक्ष कर्णबहादुर बिक लगायतले प्रशिक्षण कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।