त्रिशुली नदीकिनारमा बस खस्दा १९ जना घाइते

त्रिशुली नदीकिनारमा बस खस्दा १९ जना घाइते


  • विकाश रौनियार, धादिङ

काठमाडौंबाट रुकुमपश्चिम जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा चालकसहित १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको हो।

बा ४ ख ५७९० नम्बरको यात्रुबाहक बस सडकबाट २०० मिटर तल खसेको खत्रीले बताए। दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार धादिङको गल्छी गाउँपालिका-८ निवासी वर्ष २४ का सुमन तामाङ बसचालक हुन् भने टाउकोमा चोट लागेको उनको अवस्था गम्भीर छ ।

अन्य घाइतेहरुमा पूर्वी रूकुमको सिस्ने गाउँपालिका-४ का बासिन्दा वर्ष १९ का भुवन केसी, रूकुमको भूमि गाउँपालिका-५ का बासिन्दा अन्दाजी २१ वर्षका मदन बुढामगर, दोलखाको बैतेश्री गाउँपालिका-८ का बासिन्दा वर्ष २१ का श्रीकृष्ण श्रेष्ठ, पश्चिम रूकुमको बाफिकोट गाउँपालिका-९ निवासी वर्ष ३६ का मदनबहादुर बिक, कञ्चनपुरका वर्ष २४ का तेजबहादुर कठायत, कास्कीका कृष्णप्रसाद अधिकारी, काठमाडौंका अनिष लामिछाने, बारा करैयामाई गाउँपालिकाका २७ वर्षीय प्रविण चौधरी, रौतहटको चन्द्रपुर नगरपालिका-२ की २६ वर्षीया सीता मैनाली, रूकुमको सानोभेरी गाउँपालिका-३ का ५० वर्षीय नरबहादुर खड्का, रूकुम पश्चिम आठबीसकोट गाउँपालिका-८ का ३४ वर्षीय शिव बहादुर शाही, दोलखा कालिञ्चोक गाउँपालिका-९ का ३४ वर्षीय अभिषेक खाँती, सिरहा गोलबजार नगरपालिका( १३ का २२ वर्षीय रमेश सिंह, बागलुङ निसाखोला गाउँपालिकाका सविन छन्त्याल, रूकुम चौरजहारी नगरपालिका-१ का बासिन्दा योगेश्रवर बिक, रूकुम चौरजहारी नगरपालिका-१ का प्रेमसिंह बोहोरा, रामेछाप मन्थली नगरपालिका-९ का मिलन लामा र धादिङको गल्छी गाउँपालिका-८ का बासिन्दा रत्न तामाङरहेका छन् ।

सबै घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।