लघुकथा समाजमा नयाँ नेतृत्व

लघुकथा समाजमा नयाँ नेतृत्व


आख्यानको लघुत्तम विधा लघुकथाको उन्नयनमा विगत १५ वर्षदेखि निरन्तर क्रियाशील संस्था लघुकथा समाज, नेपालको वार्षिक साधारणसभाले लघुकथाकार/साहित्यकार गोपाल अश्कलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसअघि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ समाजका अध्यक्ष थिए ।

शनिबार बिहान सम्पन्न समाजको १५औं साधारणसभाले संस्थाको उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल र सचिवमा श्रीबाबु कार्कीलाई निर्विरोध चयन गरेको छ ।

त्यस्तै, सदस्यहरूमा सिन्धु गौतम, सुषमा मानन्धर, नवराज रिजाल, रामप्रसाद पण्डित, तारा केसी र राजेश खनाल छानिएका छन् । प्रा.डा. लक्ष्मणप्रसाद गौतम, रामप्रसाद पन्त र अश्विनी कोइराला रहेको निर्वाचन समितिले निर्विरोध चयनको घोषणा गरेको हो ।

साधारणसभाको प्रारम्भमा कवि विश्वविमोहन श्रेष्ठ, कृष्ण प्रसाईं, राधेश्याम लेकाली, प्रद्युम्न जोशी, गोविन्द गिरी प्रेरणा, छविरमण सिलवाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

उक्त अवसरमा महासचिव तुलसीहरि कोइराला र कोषाध्यक्ष सुमन सौरभद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत पारित गरिएको थियो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निवर्तमान अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र नवनिर्वाचित अध्यक्ष गोपाल अश्कले आफ्ना धारणा राखेका थिए ।