अधुरो प्रेम

अधुरो प्रेम


  • बलराम सिलवाल

(१)

सत्र वर्ष अघिको कुरो हो । म ‘स’ शहरको अस्थायी बासिन्दाको रूपमा जिम्दार जुँगेको बंगलामा मीठो सपनाको अनुभूति पालेर बाँच्दै थिएँ । मेरो घरपतिको शारीरिक बनावटले कामुकता दर्शाउँथ्यो । उसका हिंस्रक आँखाहरू जिरो वाटको चिम झैं बल्थ्यो । ऊ दामी तर मैलो पहिरन पहिरिन्थ्यो । धक्कु लगाउन अधिकार ठान्ने त्यो उल्लु चार चौरासको बखान गर्थ्यो । ऊ पार्टीका नेताहरूको धज्जी उडाउँथ्यो । ऊ बाजेश्वरलाई बुद्धिको पोको, खिर्जालाई घमण्डी, पाकुनेलाई ईसाई, फलेलाई खलनायक, चण्डलाई चमत्कारी, अट्टराईलाई नकच्चरो, छेरेलाई भकभके, बोकेन्द्रलाई गलमटे, कामदेवलाई चटपटे र घामबहादुरलाई फटफटेको बिल्ला भिराउँथ्यो । ऊ बारम्बार रोनाल्डो मेरो साथी हो ; सोनियासित हात मिलाएको छु; मोदीसित भोज खाएको छु; धनीमानीहरूको स्वास्नी पट्याएको छु; भालुलाई पछारेको छु, बाघको दुध दुहेको छु भन्थ्यो । ऊ बोलीपिच्छे चाइनेजो जोड्थ्यो । थुकको छिटाले श्रोतालाई नुहाइदिन्थ्यो । उसको ताल देखेर मेरो कन्सिरी तात्थ्यो । म उसलाई सम्झाउँथेँ ‘घरपति बा, तपाईं जस्तो कपाल पालेको मान्छेले यस्तो कुरा गर्न सुहाउँदैन । आज संसार कहाँ पुगिसक्यो ? तपाईं चैं पुरानो ढर्रामा दगुर्दै हुनुहुन्छ ।’

ऊ मदेखि झन्किन्थ्यो, ‘बाबु, तिम्रो कुरा गराइ चाइनेजो’ ठिक छैन । संसारले चाइनेजो के लछारपाटो लाएको छ र ? सूर्य चन्द्रमा चाइनेजो जहाँको तहीँ छन् । के फेरिएको छ ? मान्छे चाइनेजो पुरानै युगमा फर्किंदै छ ।’

म उसलाई भन्थेँ, ‘मान्छेमा सिद्धान्त हुनुपर्छ;पैसा सबै थोक होइन ।’

ऊ मेरो टिप्पा टिप्थ्यो, ‘भो भो, चाइनेजो यस्तो कुरा गर्नु पर्दैन, तिमीले । सिद्धान्त भन्या चाइनेजो कुन चराको नाउँ हो ? मलाई चाइनेजो सिद्धान्त पिद्धान्त मन पर्दैन । मान्छे चाइनेजो गोटी पहाडी जस्तो अवसरवादी हुनुपर्छ; अनि मात्र प्रगति होला । उसले आठ पल्ट पार्टी फेर्‍यो; आठ पल्ट सिद्धान्त फेर्‍यो । उसले चाइनेजो अहिले राजधानी शहरमा बंगला ठड्याएको छ । के तिमीलाई यो कुरो थाहा थियो त ? तिमीले चाइनेजो सिद्धान्त रटेर के गर्न सकेका छौ र ? त्यति जाबो घरभाडा तिर्न त हम्मे परेको छ ।’

मैले प्रतिवाद गरेँ, ‘सिद्धान्त सिद्धान्त नै हो । धनको रट जति लगाए नि सिलटिम्मुर खाँदा छोडेर जानु परिहाल्छ त । धनको पछि कुदेका भए महात्मा गान्धी, नेल्सन मण्डेलालाई संसारले चिन्दैनथ्यो होला । सबैभन्दा ठुलो कुरो त नाम हो नाम । सिद्धान्तले नामलाई अमर तुल्याउँछ ।’

सुकरात जस्तो देखिने त्यो जीवको ठुलो कमजोरी आइमाई थियो । ऊ आइमाईहरूलाई देख्नेबित्तिकै ओठ चाट्थ्यो । कोही चुप लाग्थे त कोही सराप्थे । ऊ ङिच्च फक्लेटे दाँत देखाएर हाँस्थ्यो । ऊ कात्तिके डाङ्गो, चटारिएको गाई गोरु देखेर रमाउँथ्यो । ऊ कस्तो गतिछाडा थियो भने मौका छोपेर ठिटीहरूको पैन्टी सुँघ्न नि पछि पर्दैनथ्यो । आधा दर्जन स्वास्नीहरूबाट एक दर्जन सन्तान जन्माउँदा नि उसको कामपिपासा शान्त भएन ।

मैले उसको थाङ्नो इज्जतको पेटारो उघारेँ, ‘घरपति बाले त स्वास्नीको वरदान नै पाउनुभएको रहेछ ।’

ऊ तिलमिलायो, ‘बाबु, तिमी चाइनेजो मेरो हुर्मत लिन किन खोज्दैछौ ? म नामर्द हैन; एउटी मात्र स्वास्नीमा बस्ने । मर्दकी दशौटी । मैले स्वास्नी ल्याएकोमा चाइनेजो तिमीलाई के को रिस ? सक्छौ भने ल्याउन न स्वास्नी । बिचरोलाई चाइनेजो बजारिया खानाले नपुसंक बनाएको छ । त्यसैले त अझसम्म स्वास्नी ल्याउन सक्या छैन । तरकारी फेरेर खाँदा कति मीठो हुन्छ ? स्वास्नी भनेको पनि चाइनेजो त्यस्तै हो । हेर बाबु, तन बुढो भए नि मन बुढो भएको छैन ।’

उसले मेरो पुसंत्वलाई हाँक दिएकोमा मलाई झनक्क रिस उठ्यो, ‘तपाईंहरू जस्ता अन्धा मर्दहरूले विकृति जन्माउनु भएको छ । कुकुरको छाउरालाई झैं भाग्यको भरोसामा छोड्यो; पुगिहाल्यो । अनि खाते र आतङ्ककारीको संख्यामा कसरी कमी आउँछ र ?’

त्यो अजीव प्राणीको कोठामा कोही मान्छे जानु हुँदैनथ्यो; अनेकौँ अत्तो थाल्थ्यो । छोरा छोरीहरू अर्कैको बीऊबाट जन्मेका हुन् कि भन्ने शंकाले स्वास्नीहरूलाई लादीपुङ गोद्थ्यो । साहिँली स्वास्नीलाई त कुकुरको बात लगाएर घरबाट निकाल्यो ।

त्यो नराधमकोमा मान्छेहरू आउँथे । ऊ तिनीहरूलाई आँगनमा भेट्थ्यो । सायद व्दैध चरित्र नबुझेर होला, सोझासाझा मानिसहरू उसको माकुरी जालमा फस्थे । ऊ गरिबहरूलाई पैसा दिएर सहयोगको बहाना गर्थ्यो तर सुन्ना थपेर घरखेत उडाउन हिचकिचाउँदैनथ्यो । ऊ लुट्नुलाई अधिकार ठान्थ्यो । यस्तै उपक्रममा उसकोमा आउने आगन्तुकहरूमध्ये समीरा नामक केटीसित मेरो परिचय बन्यो । ऊ मलाई उसकोमा आउन ज्यादै कर गर्थी । म हप्तैपिच्छे त्यहाँ जान्थेँ ।

(२)

समीरा ज्यादै लोभलाग्दी थिई । उसलाई देखेर नारद ब्रम्हचारी नि पात्तिँदा हुन् । बदनामी आँखा, सुन्तलाकेस्रे ओठ, स्याउ जस्ता गाला, अनारदाने दाँत, कालीनाग जस्तो चुल्ठो, कञ्चनजङ्घा आमादाब्लाम बिर्साउने छातीको उभार, हात्तीको सुँड जस्तो जाँघ, त्रिवेणीको संगम सम्झाउने कटि प्रदेश, कोइलीको बोली, द्रौपदीको दृढता, मोनालिसाको मुस्कान र म्याडोनाको मादकता । उसको रुप लावण्य शब्दातीत । अपूर्व-अद्वित्तीय । ऊ टाढाको गाउँमा आमा बहिनीहरूसित बस्छे । ऊ पन्ध्र वर्षकी हुँदा बाऊलाई मधुमेहले लगेछ । उनीले आफ्नो कमजोर आर्थिक स्तरको बावजुद नि छोरीहरूलाई सुसंस्कृत/सभ्य तुल्याउन कम्ति धामा गरेका रहेनछन् । उनी बीपी कोइरालाको समकालीन । प्रजातन्त्र सेनानी । बहुत बेस मान्छे । आमा सोझी र धार्मिक प्रवृत्तिकी रहिछिन् । जेठी समीरा । सानैदेखि दु:ख पाएकी । ठुली मान्छे पटक्कै नहुने । मृदुभाषी । बत्ती जस्तो धपक्क बलेकी । मर्त्यलोककी सौभाग्य । माइली सुनिरा । ऊ माधुरी जस्ती देखिन्थी तर ज्यादै घमण्डी । ऊ शेक्सपियर, मार्क्स, माओ, सार्त्र, बाइरन, लेनिनादिको दुई चारवटा ठेलीहरू पढेको भरमा आफूलाई संसारभरिको बुझक्कड ठान्थी; गडलंका बन्थी । मलाई यो ठिटी पटक्कै मन पर्दैनथ्यो । उसले मलाई ‘सिलवालजी’ भनेर सम्बोधन गर्दा मेरो अहम् ज्वालामुखी बनेर लाभा ओकल्थ्यो । ऊ घरायसी समस्यादेखि लिएर मंगल ग्रहबारे घण्टौँसम्म बहस गर्थी । ऊ भन्थी, ‘मानिस हुनुको अस्तित्व छैन । घनघोर निराशाले संसार ढाकेको छ । अब मान्छेले साम्यवाद अंगाल्नु पर्छ । सबै धर्म, दर्शन, संसदीय मान्यतादि फोसरामे भइसके । गरिब सर्वहारा वर्गको हित साम्यवादले बाहेक अरू वादले गर्न सक्दैन ।’

म उसलाई हाँक दिन्थेँ, ‘तिम्रो अस्तित्ववादी शरीरमा साम्यवादी आत्मा बाँचेको छ । कति ठुलो विरोधाभास ! अस्तित्ववाद र साम्यवाद एकार्काको शत्रु । कसरी बाँच्न सकेका छन् यी परस्परविरोधी वादहरू तिमीभित्र ? मान्छे नै सम्पूर्णता हो । तिमीहरू मान्छेलाई चेतनाहीन निर्जीव वस्तु ठान्छौ । लाखौँ मान्छेहरूमा चेतनारोपित गर्नुको साटो उल्टै ‘जनताको शत्रु’ नाम दिएर तिनीहरूलाई मार्छौ । मान्छे चेतना हो; ढुंगामुढा हैन । मान्छे मस्तिष्कबाट सञ्चालित हुन्छ, भोजनले हैन । जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । अनि के हुन्छ ? क्रान्ति । एक थोपा वीर्यले करोडौँ मान्छे जन्माउने क्षमता राख्छ । तिमीहरूले क्युबा, कम्पुचिया र तियानमेन चोकमा हजारौं मान्छेहरू मार्यौ तर मान्छे कहाँ सिद्धिएको छ र ? सकुञ्जेल मार । मान्छे मारेर सत्ता स्थापना गर्ने भन्नु त कामपीपासा मेटाउन हस्तमैथुन गर्नु जस्तो हो ।’

ऊ जंगिइ, ‘तपाईं केवल क्युबा, कम्पुचिया र तियानमेन चोक मात्र भनेर किन बकबकाउनु हुन्छ ? अमेरिकाले भियतनाम पेरुमा लाखौं मान्छे मार्यो । किन तपाईं त्यसको विरुद्धमा एक शब्द बोल्नुहुन्न ? सायद तपाईं अमेरिकाली साम्राज्यवादसित डराउनुहुन्छ होला । अमेरिकाले संसारभरिको साम्राज्यवादी फुजीमरीहरूलाई पालनपोषण गर्दो छ । आज धेरै कमरेडहरूले पीडा झेल्नु परेको छ । हाम्रो जीत अवश्य हुन्छ; अन्धकार चिरेर लाल सूर्य उदाउँछ ।’

टीकाटिप्पणी/आलोचना लम्बिरह्यो । ऊ ढिपी कस्दै रही; टसकोमस भइन । एकोहोरो झ्याउँकिरी फतफतले कान टट्टायो । अनि म हरुवासाँढे झैँ पन्छिएँ । ऊ मृदु मुस्कान छर्दै आफ्नो बाटो लागी । मैले नील गगनको बकुल्ला जस्तो बादल अघाउन्जेल हेरिरहेँ ।

(३)

कान्छी सुमीरा असल थिइ । सागर जस्तो शान्त । वरिष्ठहरूसित बहसमा हठ नगर्ने; पृथ्वी झैं सहनशील । उसका धेरै गुणहरू ठुल्दिदीसित मिल्थे । प्रकृति प्रेमी त्यो ठिटी यदाकदा भ्यानगग, शेली र बाइरनको बिषयमा बताउँथी, ‘हजुरलाई थाहा छ ? भ्यानगग सन्काहा भए नि सिद्धहस्त कलाकार हुन् । मलाई शेली, तोल्स्तोय, चेखभ, पुश्किन, लेर्मोन्तोभ, डिकेन्सादि मन पर्छन् । बहिनीको नाता मेट्ने बाइरन नकच्चरो भ्यालेन्टिनो हो । कवि भन्दैमा चरित्रहीन त हुनु भएन नि । शेक्सपियर विवादित । नेपाली साहित्यमा देवकोटा, पारिजात र लामिछाने परिमार्जित छन् । मलाई पौडेल सिग्देलको शास्त्रीयता मन पर्दैन । साहित्य समाजको दर्पण हो । लेखकले जस्तो देख्छ त्यस्तो लेख्छ । बखेडा झिकेर पुस्तक जलाउनु ठिक होइन ।’ आमा जस्ती गुनिली सुमीराको छाती जन्मभूमिको व्यथाले चस्किन्थ्यो । अनि ऊ पक्षमा वकालत गर्थी, ‘हेर्नोस् न हाम्रोमा ली क्वान, नेल्सन मण्डेला जस्ता राजनेताहरू भइदिए पो हुन्थ्यो । सबै एक से एक भ्रष्ट र स्वार्थी छन् । लोकतन्त्रको निम्ति लडेका नेताहरूले उर्ध्वरेता ऋषिले आफ्नो तपस्याको महत्ता बिर्सेर स्वर्गकी अप्सरासित लहसिए झैं सिद्धान्त आदर्श छोडेर धन कुम्ल्याउन पछि परेनन् भने अरूको त कुरै छाडिदिऔं । मलाई गठबन्धने सत्ता समीकरणदेखि एलर्जी छ । बिग्रेको देशको भताभुङ्ग चाला ज–जसले सक्ला उस–उसले खाला भन्दै मुलुकलाई दिन दुगुना रात चौगुना अवनतितिर लैजान पछि नपर्ने मन्त्रीहरूलाई धिक्कार छ । मामुली जनताले प्रजातन्त्र आए यता राहत नपाएर आहत भएका छन् । जनतामा संसदीय परिपाटीप्रति वितृष्णा बढ्दो छ । अब पनि सत्तापक्षले जनचाहनाको अवहेलना गरेर समयको माग अनुसार विकास पस्किन सकेन भने जनताले विकल्प खोज्ने छन् । भोलिको दिनमा उथलपुथल हुन्छ; पुराना कुडाकर्कट बढारिन्छ । देशले उसको आफ्नो हित चिताउने मान्छे पाएको छैन । हितैषीहरू काजी भीम मल्ल झैं मारिन्छन्/पाखा लगाइन्छन् । यहाँ अस्वाभाविक रजाइँ त नेतावर्गले गर्दो छ । तथाकथित बुद्धिजीवीहरू युरोप, अमेरिका र अष्ट्रेलियाको दास/चपरासी बन्न रुचाउँछन् र विदेशीहरूको सेवा गर्छन् । आफ्नो जन्मदेश बिर्सन्छन् । क्या, अचम्म ?! यस्तो उपक्रम चल्ने हो भने नेपालमा के बाँकी रहन्छ र ? फगत बुढाखाडा र भारतीयहरू । सबै त्यस्तै भए; सबैले त्यस्तै गरे भन्दैमा म त्यही बाटो हिड्दिनँ । मैले मेरो देशको लागि धेरै गर्नु छ ।’

मैले आश्चर्य प्रकट गरें, ‘तपाईं जस्तो गम्भीर मान्छेले यस्तो कुरा गर्नुहुन्छ भनेर मैले सपनामा नि चिताएको थिइनँ । तपाईंहरू जस्ता मानिसहरूको यस देशलाई खाँचो छ । एक थुकी सुकी हजार थुकी नदी भने झै तपाईंको विचारमा जनता समाहित हुनेछन् । तपाईं आफ्नो काममा लागिरहनोस् तपाईंको जीत अवश्य हुन्छ । तपाईं जस्तो नागरिक जन्माउनुमा नेपाल माताको गौरव हो । अनि गरिबी, अशिक्षा, भ्रष्टाचार, भोक, रोग शोकादि सधैंको लागि अन्त्य हुनेछन् ।’

उसले पुन: थपी, ‘शान्तिवादी हुँदाहुँदै मैले अव्यवस्था/कुशासनको विरुद्धमा धावा बोल्नु पर्‍यो ।’

हामी दुईबीचको बहस सुनेर आमा घरि उतिर घरि मतिर हेर्दै मुस्कुराउनुहुन्थ्यो । समीरा भान्सामा तानेमाने गर्दै थिई । म केही बेर सुस्ताउन बाहिरतिर निस्कें । मर्स्याङ्दी सुसाउँदै थियो । पानी दर्क्यो; बतास चल्यो । छिम्केश्वरी कुहिरोभित्र रङमङियो अनि म कोठातर्फ लागें, अब यो झरीले जाडो चम्काउने प्रत्युत्तरमा आमाछोरीले सही थापे । मैले सोधें, ‘आज सुनिरालाई देखेको छैन । कहाँ जानुभो ?’

‘पार्टीतिर गएकी होली । मान्छे अलि झडङगी छे ।’ आमाले गथासा पोख्नुभो । आज त्यो ठिटीसित डिस्कस गर्नु नपरेकोले म भित्रभित्रै खुसी थिएँ । यतिबेला रेडियो नेपालबाट ताजपुरियाको गीत ‘गौरादह बजारमा माया हाम्रो बस्यो’ बज्दै थियो । भोजन ग्रहणको लागि बोलाओट भएसि हामी भान्साकोठातिर लाग्यौँ ।

(४)

कामको टण्टाले महिनौँदेखि समीराकोमा जान पाएको छैन । म हरदम उसलाई सम्झिन्छु– मेरी भावी जीवन संगिनी । एकदिन म धानखेत हुँदै गाउँतिर जाँदै थिएँ । सहसा बाटोमा आमा र सुमीरा भेटिए । अनि म त्यहींबाट उहाँहरूसित डेरातिर फर्कें । ‘आमा, सञ्चै हुनुहुन्छ ? समीरा सुनिरालाई कस्तो छ ?’ मैले हालखबर बुझ्न चाहें ।

‘सञ्चै भन्नुपरो । अझसम्म कालले लगेन ।’ उहाँले असन्तुष्टि जनाउनु भो । ‘हाम्रो लागि हजुर लाखौंलाख वर्ष बाँच्नोस् ।’ मैले उहाँको दीर्घायुको कामना गरेँ । उहाँ हाँस्नुभयो । ‘समीरा सुनिराको बारेमा बताउनु भएन । कस्तो छ ?’ पुन: सोधेँ । उहाँले दिक्दार हुँदै भन्नुभयो, ‘बाबु, म दु:खी छु । लोग्ने मरेकी राँडी । जेतेमेते गरेर बन्साको बोटहरूलाई हुर्काएँ । माइली छोरी पार्टीतिर दगुर्छे; घरको वास्ताबेस्ता छैन । कान्छी छोरी कलेजमा पढ्दैछे । ठुल्छोरीले घर धान्दै थिइ, त्यो पनि अहिले थला परी । अब कसले पाल्छ र ?’ मैले आश्वस्त तुल्याएँ, ‘फिक्री नगर्नोस् । हामी छँदैछौँ नि । समीरा केको बिरामी ?’

‘टीबी अरे । धेरै दिनदेखि ज्वरो आयो; छाती दुख्यो भन्थी । अहिले त रगत छाद्छे । अब मेरी छोरी बाँच्दिन ।’ आमा घ्वाँ–घ्वाँ रुनुभयो । मेरा आँखाहरू रसाए । सुमीरा ढुंगो झैं मौन भएर भुइँ कोतर्दै थिइ । ‘आमा, बिसेक हुन्छ । चिन्ता नगर्नोस् ।’ मैले ढाढस बधाएँ । ‘बाबुसित मद्दत माग्न आएका हामी ।’ आमाले मुख फोर्नुभयो ।

‘म हजुरलाई सक्दो मद्दत गर्छु’, मैले बचन दिएँ ।

‘बाबु, घरपति त देख्दिनँ नि ।’ आमाले सोध्नुभयो । ‘आमा, त्यो बुढोको कुरो गरिसाध्य छैन । बहुत सन्काहा घामट । हिजो स्वास्नीहरूसित बाझ्दै थियो । अनि खै कता पो अन्भरियो ?’ मैले उसको कटु आलोचना गरेँ ।

यो मान्छे गाउँलेभाइ पर्छ । मैले बीस वर्षअघि उसलाई पाँच हजार रुपियाँ सघाएको थिएँ । ब्याज त कहाँ हो कहाँ ? सावाँ नि दिँदैन । बडो कञ्जुस छ । ठुल्छोरी पैसा उठाउन आउँथी । एकपल्ट त मोरोले झण्डै हातपात गरेछ । त्यसपछि ऊ आउन छोडी । मैले पैसाको कुरो उठाउन छोडेँ । अर्कालाई धरधरी रुवाउने यस्तो असतिको भलो कहिल्यै नहोस् ।’ आमाले बेस्मारी सराप्नुभयो ।

‘आमा, मेरोमा चिया नास्ता गरौँ है आज ।’ मैले आग्रह गरें । ‘बाबुलाई आज दु:ख नदिउँ होला । अर्को पल्ट, बाबु ।’ आमाले वातावरण सहज बनाउनुभयो ।

‘लौ त आमा, गोधुली हुन लाग्यो । घरको बाटो लागौँ ।’ हामी त्यहाँबाट प्रस्थान गर्‍यौँ ।

(५)

समीराको सन्त्रास व्याप्त अनुहार । कलेटी परेको ओठ । छातीका करङ गङरङ्ग देखिएका । निरस आँखा । मैले समीरालाई झण्डै नचिनेको । कहाँ गयो त्यो कान्ति ? त्यो आभा ? अनौठो अनौठो लाग्ने त्यो परिवेश । म त भावनामा बगेछु । यथार्थले पछार्‍यो । अनि म लागेँ- समीराको स्याहारसुसारमा ।

ऊ मलाई धेरै माया गर्थी । दरौंदी किनारमा हामीले मन माझेका थियौँ; सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थियौँ । उसले फेरेको सास; उसले टेकेको धर्ती; उसको हातले छोएको बस्तु प्रियकर छन् मेरा लागि । धोएर धोइ नसकिने कस्तो पीडा ! ती सबै खण्डहर बन्न खोज्दैछन् ।

म डाक्टरको खोजीमा यत्रतत्र भौतारिएँ । बल्लतल्ल कम्पाउण्डर फेला पर्‍यो । उसैलाई अनुनय विनय गरी ल्याएँ । उसले बिरामीलाई जाँच्यो अनि आइसोनाइड चक्की खुवायो । आमा सुमीरा मेरो भरोसामा थिए; म रामभरोसामा थिएँ । कम्पाउण्डरले मलाई एकान्तमा बोलाएर भन्यो, ‘टीबी सरुवा रोग हो । नजिक नबस्नोस् । बिरामी गलेको जस्तो छ । हदै एक महिना बाँच्छिन् । औषधिले काम गर्ला जस्तो लाग्दैन ।’

मैले रुँदै भनेँ, ‘हजुरले जसरी भए नि बँचाइदिनोस् नत्र त मेरो जहाज नै डुब्छ । जति खर्च लाग्छ; म तिर्न मञ्जुर छु । कृपया भगवानको लागि त्यसो नभन्नोस् ।’

उसले हामीउपर सन्देह गर्‍यो । अनि मैले खुलस्त भन्दिएँ, ‘ऊ मेरी प्रेमिका हो । हामी छिट्टै नै बिहे गर्दैंछौँ ।’

उसले भन्यो, ‘हेर्नोस्, संसारको नियम नै यस्तै छ । जन्मेपछि मर्नुपर्छ । हामीले त उपचारसम्म गर्ने हो । अरू त के गर्न सकिन्छ र ? यो सबै भगवान भरोसा ।’

कम्पाउण्डरले बाटो ततायो । आमाले रुञ्चे स्वरले भन्नुभयो, ‘बाबु, डाक्टर के भन्दैछ ?’ मैले झुटो बोलें, ‘बिरामी ठिक हुन्छ भन्यो ।’ मैले त उनीहरूलाई ढाढस दिएँ तर मलाई कसले ढाढस दिने ? कति साह्रो छ जीवन ! मलाई आफूमुनिको जमिन भास्सिदै गएको अनुभव भयो । मैले उसको स्याहारसुसारमा कत्ति पनि कमी गरिनँ । दिनहरू बित्दै गए । हामी बिचको मायामा कमी आएन । म उसको हात चुम्दै रहें ; कपाल सुम्सुम्याउँदै रहें । रोग बीसको उन्नाइस भएन । एक दिन उसले मलाई औंठी चिनो दिंदै कानमा फुसफुसाई, ‘हजुरको र मेरो भेट अर्को जुनीमा होस् । हाम्रो प्रेम अमर रहोस् ।’ यत्ति नै बेला आमा कोठामा पस्नुभयो र मसित सोध्नुभयो, ‘बाबु, समीरा के भन्दैछे ?’

म अकमक्क परें । प्रत्युत्तरमा समीराले भनी, ‘आमा, म उहाँलाई प्रेम गर्छु ।’ यसपछि आमाले हामीलाई के ठान्नुभयो कुन्नि त्यो त मलाई थाहा भएन तर जे होस् उहाँ हामी उपर शंकालु रहनुभयो ।

यस घटनाको दश दिनपछि समीराको प्राण पखेरु उड्यो । मेरो त्यतिबेलाको हालत सत्यदेवी गुमाएका महादेवको भन्दा कम थिएन । त्यतिखेर मेरो पनि प्राण पखेरु उडेको भए म बढी खुसी हुने थिएँ । के गर्नु र ? जीवनचक्का नै यस्तै छ । बाँच्न खोज्ने मर्छ; मर्न खोज्ने बाँच्छ । उसको तेह्र दिनको कर्म पूरा भो । मैले ब्रह्मचारी भएर हरिद्वारमा जीवन बिताउने निर्णय गरेँ । मैले आमा, सुमीरा र सुनिरासित बिदा लिई गह्रौं पाइतो अघि बढाएँ ।

(६)

दश वर्षपछि काकतालीले नारायणघाटमा घरपतिसित भेट भयो । उसको अनुहार ढेडु जस्तो देखिन्थ्यो । ऊ आफूले जवानीमा अन्धो भएर थुप्रै स्वास्नी ल्याएकोमा पश्चाताप गर्दै थियो । उसलाई बुढेसकालमा स्वास्नी/छोराहरूले घरबाट निकालेपछि ऊ अचेल देवघाटमा बस्दोरहेछ । मैले ती आमा/छोरीहरूको विषयमा सोधेँ । उसले भन्यो, ‘आमा बुढी चैँ ठुल्छोरी खसेकै साल खुत्रुक्कै भइ । माइली छोरी नारायणघाटमा पार्टी हाँकेर बसेकी छे । कान्छी छोरीलाई त कसले हो कुन्नि बम्बई लगेर बेच्यो रे भन्थे । मैले उनीहरूको बारेमा यत्ति मात्र थाहा पाएको हूँ ।’

उफ्फ, कत्ति भयानक ?! यस्तो सुनेसि उमुर्को लाग्यो । सर्वत्र कालिमा ।

  • भण्डारा, चितवन