दाङमा श्रीमतीको हत्या गरी श्रीमान‍्ले गरे आत्महत्या

दाङमा श्रीमतीको हत्या गरी श्रीमान‍्ले गरे आत्महत्या


घोराहीमा श्रीमतीको हत्या गरी एक जनाले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका(१३ डुमर गाउँका ३६ वर्षीय नवीन रोकाले ३५ वर्षीया श्रीमती निरु रोकाको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मानसिक रोगका बिरामी नवीनलाई उपचारका लागि बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा रक्तचाप उच्च भएपछि चिकित्सकले अस्पतालमै बस्न सुझाव दिएका थिए । त्यसपछि उनीहरू नजिकै फुपूको घरमा बसेकोमा राति नवीनले निरुलाई सलले घाँटी दाबेर हत्या गरी आफू पनि पंखामा झुण्डिएर आत्महत्या गरेको दाङ प्रहरीका प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए ।

बिहान कोठाबाट कोही ननिस्किएपछि ढोका खोलेर हेर्दा दुवै मृत भेटिएको उनले जनाए । मृतकका दुई छोरा र एक छोरी छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीको भनाइ छ ।