झापा र सुनसरीबाट ठूलो परिमाणमा अवैध पटका बरामद

झापा र सुनसरीबाट ठूलो परिमाणमा अवैध पटका बरामद


भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्यबराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको छ ।

तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर अवैध रुपमा नेपाल भित्र्याइएको पटका सशस्त्रले नियन्त्रणमा लिएको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्र प्रहरीलाई देखेपछि भागेका थिए ।

बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका १ बाट बरामद भएको प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो । त्यस्तै, सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका १ बाट शुक्रबार विभिन्न प्रकारका पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको हो । बरामद गरिएको पटका नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको रहोबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।