डडेल्धुरामा स्वतन्त्र उम्मेदवारसँग कांग्रेस (बीपी) र नेकपा (एस)को समर्थन र सहकार्य

डडेल्धुरामा स्वतन्त्र उम्मेदवारसँग कांग्रेस (बीपी) र नेकपा (एस)को समर्थन र सहकार्य


  • डम्बर निदाल, डडेल्धुरा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) र नेकपा (एस)को समर्थनमा स्वतन्त्र उम्मेदवारबीच सहकार्य हुने भएको छ ।

शनिबार सयुंक्त पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस बीपी र नेकपा एसका जिल्ला नेतृत्वसहित उम्मेदवारबीच भएको भद्र राजनीतिक सहमतिपछि जारी विज्ञप्तिमा डडेल्धुरा जिल्लाका सम्पूर्ण आम मतदाता जनसमुदायलाई निष्पक्ष, भयमुक्त, स्वच्छ, विवेकपूर्ण छनौटको वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै जनतालाई सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ । दुवै पक्षका उम्मेदवारलाई मतदान गर्न–गराउन पार्टीपंक्ति सक्रिय हुने र प्रभावकारी रुपले सम्पन्न गर्ने प्रतिबद्धतासहितको चुनावी समिकरण सहमतिपत्रको नेकपा एसका जिल्ला अध्यक्ष कविन्द्र बिष्टले बाचन गरी जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार डा. तारा जोशी र नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले ३१ वर्षसम्म डडेल्धुराका जनताले दिएको अभिमतको वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपमान गरेको बताए । जनतामा विकासको परिभाषा, अभिमतको मूल्य र मान्यताको प्रत्याभूति दिलाउन आफूहरूसँग योजना भएको र जनतालाई त्यसको प्रतिफल दिन आफूहरू इमान्दार भएर लाग्ने बताउँदै जनप्रतिनिधि र आम मतदातामा लोकतान्त्रिक चेतना अभिवृद्धि गर्न चुनावी तालमेलको आवश्यकता रहेको भिजन डडेल्धुराका अभियन्ता डा. जोशीले बताए ।

२०७४मा प्रदेश निर्वाचन क्षेत्रमा प्रतिष्पर्धी रहेका जोशीलाई उनको योग्यता क्षमता बौद्धिकता र तपस्यालाई जनताको अभिमतमार्फत परीक्षा गर्ने अवसरका लागि आफूले रोजेको बताउँदै राज्य सत्ता र शक्तिको प्रलोभनलाई त्यागेर जनताको प्रत्यक्ष सेवा गर्ने मनसायले आमनिर्वाचनमा होमिएको भन्दै डा. जोशीलाई प्रदेश निर्वाचन क्षेत्र ख मा र प्रतिनिधि सभामा आफूलाई आम मतदाताले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा नेता मल्लले राखे ।

निर्वाचनमा बिभिन्न हतकण्डा अपनाएर विजयी हुने र निर्वाचित भएर मतदात तथा जनतासँग साक्षात्कार गर्न कहिल्यै पनि नआउने जनप्रतिनिधि लोकतान्त्रिक हुन सक्दैन भन्दै पार्टीभित्रको उकुसमुकुस, अन्यायलाई चिर्दै जनतालाई पुनर्जागृत गर्न र निरंकुश प्रवृत्तिका विरुद्ध उठेको आवाज र विद्रोहको आफूले उच्च सम्मान गरेको जोशीले बताए ।

पार्टीको आन्तरिक जीवन र सार्वजनिक महत्वको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा आफूलाई विद्रोहीको व्यवहार गरेको डडेल्धुराबासीलाई थाहा छ, गलत काम र प्रवृत्तिको बारेमा बोल्दा नेतृत्वले नरुचाएको तर आफू दासत्व प्रवृत्ति स्वीकार गर्न नसक्ने अवस्थामा पुगेपछि आज यो अवस्था सिर्जना भएको नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्लले उल्लेख गरे ।

२०७४ को प्रदेश निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी रहे पनि सहपाठी, एकै गाउँका प्रभावशाली नेताद्वय मल्ल र जोशी समयको मागअनुसार एउटै मञ्चमा उभिन पाउँदा आफूहरु खुशी भए पनि प्रतिनिधिसभा सदस्य पदका लागि सातौँ पटक मैदानमा रहेका देउवालाई डडेल्धुराका जनताले मतदान गर्नुपूर्व जिल्लाको विकास र बोलेका बाचा पूरा गर्ने सन्दर्भमा प्रश्न गर्ने साहस राख्नुपर्ने सुझाव उनीहरूले दिए ।