अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते


अरिङ्गालको टोकाइबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अस्पतालमा उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिएका छन् । मृतकको शव उनकी आमा बदम परियारले अन्तिम दाहसंस्कारका लागि बुझिसकेकी छन् ।

बताइएअनुसार मृतक परियार फरक क्षमताका थिए । उनको शरीर सामान्य मानिसको भन्दा अस्वभाविक बढी मोटो थियो । शरीर मोटो भएकै कारण भाग्न नसक्दा अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दाको अनुमान छ । मृतक परियार मावलीघर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ बस्दै आएका थिए ।