युक्रेनी अर्थतन्त्रमा ३० प्रतिशतको संकुचन

युक्रेनी अर्थतन्त्रमा ३० प्रतिशतको संकुचन


युक्रेनको अर्थतन्त्र २०२२ को पहिलो तीन त्रैमासिकमा २०२१ को सोही अवधिको तुलनामा करिब ३० प्रतिशतले संकुचित भएको छ । रुसी हमलाका कारण युक्रेनी जनजीवन अस्तव्यत भइरहेका बेला त्यहाँको अर्थतन्त्रमा पनि संकुचन आइरहेको युक्रेनी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेप्टेम्बरमा खराब मौसमले उब्जनीमा सुस्त बनाएको, जापोरिज्जिया आणविक उर्जा केन्द्रबाट बिजुली आपूर्तिमा अवरोध आएको जनाइएको छ । युक्रेन र रुसले एकअर्कालाई उर्जा केन्द्रमा गोलाबारी गरेको आरोप लगाउँदै आएका छन् ।

तर, निर्यातमा केही सुधार आएको छ । सेप्टेम्बरमा निर्यात २३ प्रतिशतले बढेको छ, जुन फेब्रुवरीमा युद्ध सुरु भएदेखिको उच्चतम स्तरमा पुगेको बताइएको छ । ‘सेप्टेम्बरमा सुधार भयो, तर दुश्मनले युक्रेनी भूभागमा गोलाबारी जारी राख्यो जसका कारण व्यापारिक भवन र लजिस्टिकमा दबाब सिर्जना गऱ्यो’, मन्त्रालयले भनेको छ ।

‘उत्पादन सुविधा, पूर्वाधार र आवासीय भवनको थप विनाश साथै युद्ध कति लामो हुन्छ भन्ने अनिश्चितताले विकासमा बाधा पुऱ्याइरहेको छ र रिकभरी रोकिएको छ’, विज्ञप्तिमा भनिएको छ ।