यसरी मनाए कलाकारले दशैँ

यसरी मनाए कलाकारले दशैँ


photo: rss

विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैँको टीका ग्रहण गरेका तस्बिरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टीका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिनुभएको छ । यस्तै, अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मीरा आचार्यको तस्बिर राखेर पत्नी, छोरा र बुहारीलाई टिका लगाइदिनुभएको छ ।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा थापेपश्चात् आशिर्वाद लिनुभएको छ । ‘छड्के २’ को छायाङ्कनमा व्यस्त अनमोल लगत्तै ‘जेरी’मा व्यस्त रहनुहुनेछ ।

अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टिका ग्रहण गर्नुभएको छ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुबाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टिका ग्रहण गर्नुभएको छ ।

यस्तै आमाबाट टिका र जमरा ग्रहण गरेपछि सामुहिक तस्बिर खिचाउँदै हाँस्यकलाकार शिवशङ्कर रिजालले दशैँको शुभकामना दिनुभएको छ । “तराई गएर अन्य मान्यजनबाट टीका ग्रहण गर्नेछु । मेरो दशैँ तराई र काठमाडौंमा बराबर हुँदै आएको छ”, उहाँले सामाजिक सञ्चालमा लेख्नुभएको छ ।