शेर्पा भाषा सिकाउने ‘शेर्पा भाषा अनुप्रयोग’को निर्माण

शेर्पा भाषा सिकाउने ‘शेर्पा भाषा अनुप्रयोग’को निर्माण


८ अक्टोबरमा एप्स सार्वजानिक गरिँदै

  • डिल्ली अम्माई

विश्व शेर्पा संघले संसारभरि छरिएर रहेका शेर्पाहरुको भाषा तथा लिपि सिकाइ र सहज पहुँचको लागि ८ अक्टोबर २०२२ बाट एक डिजिटल एप्स सार्वजनिक गर्दै छ। संघले शेर्पा भाषालाई सबैको पहुँचमा पुऱ्याउने हेतुले राजधानी काठमाडौंमा हुने विश्व शेर्पा दिवसको अवसरमा आफ्नो समुदायका धर्मगुरुबाट ‘शेर्पा भाषा एप्स’ सार्वजनिक गर्ने तयारी गरेको हो ।

आफ्नो समुदायको भाषिक लिपि र व्याकरणसहित उक्त डिजिटल एप्सले शेर्पा समुदायलाई निरन्तर सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । नेपालको आदिम भूमिबाट विभिन्न कारणले विश्वका अन्य देशहरूमा गएर बसोबास गर्ने क्रमले शेर्पा भाषा कालान्तरमा कमजोर हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै ‘शेर्पा भाषा एप्स’को निर्माण गरिएको हो ।

विशेषतः शेर्पाहरू विश्वका जुनसुकै देशमा रहेपनि उनीहरुको मूल मौलिक पहिचानलाई भाषाले जोड्ने अपेक्षालाई अन्यथा मान्न सकिन्न । त्यसै सन्दर्भमा यो डिजिटल एप्सले भाषा सिकाइमा रुचि राख्ने अन्य समुदायका मानिसहरुलाई समेत महत्वपुर्ण योगदान दिन सक्ने छ। आफ्नो समुदाय जहाँ जुन अवस्थामा बसे पनि आफ्नो समूदायको मौलिक पहिचान, भाषा, धर्म कला संस्कृति र परम्परागत मुल्य मान्यतालाई संरक्षण र प्रबद्र्धन गर्नका लागि विश्व शेर्पा संघ लागिपरिरहेको देखिन्छ ।

भाषिक समुदायले युगौँदेखि निर्माण गरेको भाषा, संस्कृति तथा मौलिक पहिचानलाई जोगाउँदै पुस्तान्तरण गर्ने अभियानमा लागिरहेका विश्वका सबै शेर्पाहरूको बीचमा संस्थागत एकताले मात्रै आफ्नो अपनत्वको रक्षा गर्न सक्छ । शेर्पा भाषाको यो डिजिटल एप्स पनि भाषा र लिपि सिकाइको सन्दर्भमा कोशेढुंगा सावित हुनेमा विश्व शेर्पा संघ विश्वस्त रहेको देखिन्छ ।

सूचना प्रविधिको विकासले विश्वभरी छरिएर रहेका शेर्पा लगायत सबै समुदायका मानिसहरूलाई सहज रुपमा संवाद गर्ने सहजता र अवसर प्रदान गरेको छ । सुचना प्रविधिमा आएको सर्वसुलभताले शेर्पालगायत सबै मौलिक सभ्यताका सर्जकहरुलाई विश्वका जुनसुकै देशका जुनसुकै ठाउँमा रहेपनि एकताबद्ध हुन सम्भव बनाएको छ।

शेर्पाहरूको कुरा गर्नु पर्दा विशेषगरी भारतको सिक्किम र दार्जिलिङ, अमेरिका, क्यानाडा, बेल्जियम, हल्याण्ड जर्मन, बेलायत, पोर्तुगल, फ्रन्स, इटाली, नर्वे, स्वीजरल्याण्ड, हङकङ, अष्ट्रेलिया लगायतका देशहरूमा शेर्पाहरु छरिएर बसेका छन् । स्थायी वा अस्थायी जुन हिसाबले विश्वका विभिन्न मुलुकहरूमा शेर्पाहरूको बसोबास भए पनि आफ्नो मौलिक पहिचानको सन्दर्भलाई सामाजिक र भावनात्मक रुपमा जोड्न तथा भाषिक एप्समार्फत घरबाटै आफ्नो भाषाको सिकाइलाई अघि बढाउन सम्भव बनाएको हो ।

सन् २०१० मा यूरोपका विभिन्न देशहरूमा स्थापित शेर्पा संघ संस्थाहरूलाई एकीकृत गर्ने शिलशिलामा शेर्पा संघ युरोप गठन भएको थियो । विश्वभरि रहेका शेर्पाहरुलाई जोड्ने शिलशिलामा विश्व शेर्पा संघ गठन भइ पहिचान रक्षाको सन्दर्भमा धेरै कामहरु गर्दै आएको छ । जसअन्तर्गत आफ्नो लिपि र भाषाको सिकाइको लागि निर्माण गरिएको ‘शेर्पा भाषा एप्स’ पनि एक हो ।

विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाले दिएको जानकारी अनुसार अक्टोबर ८ का दिन विश्व विभिन्न मुलुकहरुबाट भर्चुअल जुममार्फत पनि सबैले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

दिइएको जानकारी अनुसार ‘प्रसिद्ध धर्मगुरुको बाहुलीबाट शेर्पा भाषा एप्सलाई सार्वजनिक गरिने छ । निर्वाचन नजिकिँदो अवस्थामा रहेकाले देशको राजनीतिक सन्तुलनको अवस्थालाई समेत ध्यानमा राख्दै धर्मगुरुबाट एप्सलाई सार्वजनिक गर्न लागेको हो ।’ अध्यक्ष शेर्पाले उक्त दिवसमा राजनैतिक दलका नेताहरुको पनि सहभागिता रहने जानकारी दिए ।

कार्यक्रममा नेपाल शेर्पा संघको समन्वयत्मक भूमिका निर्वाह गर्ने जनाइएको छ । उक्त कार्यक्रम सफल बनाउन किदुग, विभिन्न संघसंस्था, भातृसंगठनहरुलाई समेत विशेष आग्रह गरेको नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । शेर्पा भाषाको संरक्षण, विकास र विस्तारका लागि मोवाइल एप्लिकेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष शेर्पाको भनाइ रहेको छ ।

भाषा सिक्न, प्रयोग गर्न, उच्चारणको शैली सिक्न समेत एप्लिकेशनमा फिचरहरु राखिएको छ । त्यस्तै शेर्पाहरुको विवाह, जन्म लगायत सामाजिक संस्कारका विषयमा एप्लिकेशनमा पढ्न सकिन्छ । एप्सलाई सरल र सहज रुपमा प्रयोगका लागि उच्च प्रविधि अपनाइएको जनाएको छ ।

एप्सले युवाहरुलाई भाषा सिक्न सहज हुने र आम शेर्पा समुदायमा भाषा शैलीमा एकरुपता ल्याउन सहयोग पुग्ने सम्बन्धित पक्षको भनाइ छ । एप्स निर्माणका लागि विभिन्न देशमा बसोवास गर्ने शेर्पा समुदायहरुले आर्थिक सहयोग गरेका छन् ।

स्मरण रहोस, शेर्पा जातिको इतिहासमा समय र परीस्थितिले जति नै हेरफेर ल्याए पनि शेर्पा भाषामा खासै परिवर्तन नभएको कारण आजसम्म शेर्पा समुदायले आफ्नै धर्म र संस्कृतिलाई जोगाउन सफल भएको देखिन्छ । मौखिकमा बोल्ने शैली फरक भएपनि लिखितमा सम्भोट लिपि र त्यसमा आधारित व्याकरणको नियम भएको हुनले लिखित भाषामा ९० प्रतिशत सामान्य तिब्बती भाषा र १० प्रतिशत प्राचीन तिब्बती भाषा मिश्रित भएको पाइन्छ । शेर्पाको मातृभाषा भोट बर्मेली भाषा बोल्नेको समूहमा पर्छ र, नेपालमा यो भाषा प्राय सगरमाथा अञ्चलको सोलुखुम्बु र जनकपुर अञ्चलको दोलखा जिल्ला, रामेछाप जिल्ला, बागमती अञ्चलको उत्तर-पुर्व सिन्धुपाल्चोक जिल्ला आदिमा प्रचलित रहेको छ।

शेर्पा भाषाको लिपिहरू ‘यअङ्’ अर्थात् स्वर वर्ण र ‘सलज्येद’ अथवा व्यंजन वर्ण गरी दुई भागमा विभाजन गरिन्छ । तिब्बती व्याकरणमा विद्वानहरूका आफ्नो आफ्नै विशेष मत भएको कारण यस विभाजनको बारेमा पनि सक्या पण्डित ५, पल्खङ लोचावा ६ र याङ्चन ड्रुब्पयी दोर्जे ७ आदिले ཨ་ཨི་ཨུ་ཨེ་ཨོ། पाँचवटा स्वर वर्ण र ཀ་ཁ་ག་ང་། ཅ་ཆ་ཇ་ཉ། ཏ་ཐ་ད་ན། པ་ཕ་བ་མ། ཙ་ཚ་ཛ་ཝ། ཞ་ཟ་འ་ཡ། ར་ལ་ཤ་ས། ཧ། गरी उनन्तीसवटा व्यंजन वर्णमा छुटाएको छ । तर यो सबै व्याकरणको नियममा सही भएपनि तिब्बती व्याकरणको मूल लेखक थोन्मि सम्भोटले रचना गर्नुभएको व्याकरण मूलत्रिंशत् नाम ८ मा ཨི་ཨུ་ཨེ་ཨོ། चार वटा स्वर वर्ण र ཀ་ཁ་ག་ང་། ཅ་ཆ་ཇ་ཉ། ཏ་ཐ་ད་ན། པ་ཕ་བ་མ། ཙ་ཚ་ཛ་ཝ། ཞ་ཟ་འ་ཡ། ར་ལ་ཤ་ས། ཧ་ཨ། गरी तीस वटा व्यंजन वर्णमा विभाजन गरिएको पाइन्छ ।