बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ ।
त्यहाँको विद्युत् विकास समितिका अनुसार स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेपछि अचानक विद्युत् आपूर्ति बन्द हुँदा देशका ८० प्रतिशतभन्दा बढी क्षेत्र प्रभावित भएका छन् ।
समितिका प्रवक्ता शमीम अहसानले बङ्गलादेशको उत्तरपश्चिमका केही स्थानबाहेक देशका बाँकी भाग विद्युतविहीन भएको जनाएका छन् ।
अहसानलाई उद्धेत गर्दै एएफपीले जनाएअनुसार १३ करोड वा सोभन्दा बढी मानिस विद्युतविहीन छन् र के कारणले यो गल्ती भएको हो भन्ने स्पष्ट हुन सकेको छैन ।
रूसले युक्रेनमाथि गरेको आक्रमणपछि विश्वव्यापी ऊर्जाको उच्च मूल्यका कारण बङ्गलादेशले हालैका महिनाहरूमा ठूलो विद्युत् सङ्कटको सामना गर्नुपरेको बताउने गरिएको छ ।
बिजुलीको माग पूरा गर्न पर्याप्त आयातित डिजेल र ग्याँसको मूल्य चुकाउन संघर्ष गरिरहेको दक्षिण एसियाली राष्ट्रमा लामो समयसम्म लोडसेडिङ हुन थालेपछि जनआक्रोश तीव्र भएको छ ।
पछिल्लो पटक सन् २०१४ को नोभेम्बरमा बङ्गलादेशको ७० प्रतिशत भूभागमा करिब १० घण्टासम्म विद्युत् आपूर्ति बन्द भएको थियो ।
प्रतिक्रिया