रौतहटमा धामीझाँक्रीले यसरी मच्चाउँदैछन् लुट, स्थानीय प्रशासन मौन

रौतहटमा धामीझाँक्रीले यसरी मच्चाउँदैछन् लुट, स्थानीय प्रशासन मौन


  • संजय मिश्रा, रौतहट

रौतहटमा धामीझाँक्रीले प्रसाद र भाकलबापत बोका चढाउने नाउँमा ब्रहमलुट मचाएका छन् ।

भाकल दिने नाउँमा करोडौँको बोकाको बली र बली दिएबापत धामीझाँक्रीहरुले कारणी अर्थात बली चढाउन आउनेसँग लाखौँ रुपैया असुल गरिरहेका छन् । गाउँका कतिपय अगुवाहरुले त्यस्ता धामीझाँक्रीको संरक्षण गर्ने गरेका छन् ।

कटहरिया नगरपालिका ५ का झाँक्री स्थानीय भाषामा भाग्ता सिकिन्दर यादवले तन्त्रमन्त्र गर्ने स्थान स्थानीय भाषा टेकामा अहिले टाढा टाढाबाट मानिसहरुले १५० भन्दा बढी बोका थुपारेका छन् । बोका ल्याउने कारणी अर्थात् पीडितले भाग्ताको लागि धोती, कुर्ता, गन्जी, गम्छा र उनको श्रीमतीको लागि साडी लगायतका कपडाका साथै भग्ताले भनेअनुसारको खाद्यान्न लिएर गएका छन् ।

दशैँको नवमीका दिन दिउँसो ४ बजे देखि उक्त बोकाहरुको बली दिइएको बुझिएको छ । बली दिएबापत कारणिले भग्तालाई दुई हजार रुपैयाँ दिनुपर्ने ब्यवस्था रहेको छ।

भाग्ता सिकिन्दर यादवले आफू वर्षभरी कारणिको सेवाबापत उक्त रकम लिने गरेको बताए । आफुले पुजा गर्ने कुल देउताले सबैको कल्याण भएर चढावा र बली दिन बोका ल्याएको भाग्ता यादवको दाबी छ। उनीजस्तै कटहरिया ७ पिप्रापोखरियाका भाग्ता रामनारायण यादवले गाउँ छेउमै लगाएको टेकामा अहिले २५० भन्दा बढी बोका जम्मा भएको छ । भाग्ताले एउटा बोका बली दिएबापत २५ सय रुपैयाँ असुल गरिरहेका छन् । बलीबापत भाग्ताले लिने पैसालाई स्थानीय भाषामा चिराकी भन्ने गरिन्छ । रौतहटमा यो दुई स्थानमा मात्र नभै बडादशैँमा भाग्ताहरुले दर्जनौं स्थानमा टेका लगाएर तन्त्रमन्त्र झारफुक गर्नुका साथै बली, पुजा र चढावनाको नाउँमा करोडौँ रुपैया असुलिरहेका छन् ।

यसरी ठगी आएको रकम कतिपय भाग्ताले नजिकका प्रहरी तथा गाउँका कतिपय अगुवालाई समेत दिने गरेको स्रोतको दाबी छ । भाग्ताहरुको टेकामा अंधविश्वासमा परेर बली तथा चढावा दिनेमा दलित, गरिब, अशिक्षितको संख्या प्रशस्त रहेको कटहरियाका पुर्व उपाध्यक्ष जयप्रकाश यादवले बताए ।

समाजसेवी गणेश साह कलवारले जिल्लामा दुई दर्जन बढी भाग्ताहरुले झारफुकको नाउँमा सोझासाझा जनताुँग करोडौँ रुपैया अवैध असुली गर्ने गरेको दाबी गरे ।

कटहरिया ५ मा एकजना भाग्ताले यसरी नै ठगी गरिरहँदा तत्कालिन इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई कृष्णप्यारा खरेलले भग्तालाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याए पछि झन्डै एक दशकदेखि बन्द रहेको झारफुक पुनः तीन चार वर्षदेखि सुरु भएको समाजसेवी कलवारले बताए ।

यसरी झारफुक, तन्त्रमन्त्रको नाउँमा विपन्न, गरिब, दलित, अशिक्षितलाई करोडौँ ठगी गर्ने भाग्तालाई कानुनी कार्वाहीको दायरामा नल्याएसम्म समाजमा यस्तो विकृति कायम रहने निश्चितप्रायः छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर ठाडा मगरले यस्तो विकृती रोक्न तत्काल पहल गर्ने बताएका छन् ।