‘नदेऊ मृत्युदण्ड’

‘नदेऊ मृत्युदण्ड’


  • लामिछाने मातृका

मेरा ‘बा’लाई

किन मृत्युदण्ड ?

हामीलाई किन मृत्युदण्ड ?

हे मनुवा हो,
तिमी त संसारका
सर्वश्रेष्ठ प्राणी रे
भगवानका तिमी
उत्कृस्ट रचना रे
दुःख, सुख, कष्ट, पीडा
सब बोध गर्न सक्ने
सबैलाई माया-ममता दिने
बोल्न सक्ने,
चल्न सक्ने,
हिँड्न सक्ने
सोच, विचार गर्न सक्ने
सही र गलत
पाप र धर्म
छुट्याउन सक्ने
को होला र तिम्लाई चुनौती दिने ?
ठुला ठुला
बाघ, भालु, हात्ती, गैँडालाई त
आफ्नो वशमा पार्न सक्छौँ
उनकै पिठ्युँमा बसेर
वन विहार, जल विहार
गर्न सक्छौ
तर अफसोच !
किन तिमी यति बिघ्न
कृतघ्न हाम्रा लागि ?
के बिगारेका थियौ र हामीले,
तिम्रो अनि तिम्रो परिवारको
परारको साल जिजुबा र हजुरबा
पोहोर दशैँमा ‘बा’
अस्ति भर्खर साउने सक्रान्तिमा
सानाबा र काका
अनि अहिले
पालो मेरो आएजस्तो छ,
किन अनाहकमा
दिन्छौ मृत्युदण्ड ?
कुन कसुरमा हो
एस्तो कठोर सजाय
पाउने हामीले ?
तिम्रो दुनियाँमा
मान्छेले मान्छे मार्दा त
मृत्युदण्ड हुँदैन भने
किन मनुज तिमी
यस्तो फैसला गर्छौ ?
एकपटक सोची हेर त
त्यो दशैँको नयाँ लुगा लगाएर
पिङ खेलिरहेको तिम्रो छोरो
अनि फेरि सम्झ त
वर्षी पनि नपुगेकी
कोक्रामा मस्त सुतेकी छोरी
के तिमी तिनलाई दिन सक्छौँ
तिम्रा अबोध र निर्जीव
भगवानरुपी पत्थरका सामु
च्वाट्ट पारि बलि दिन ?
यदि छैन त्यति हिम्मत भने
किन रेट्छौ त गला हाम्रो ?
के तिमीलाई माया लाग्दैन हाम्रो ?
आफ्नो जुठो खुवाएर
दानापानी, घाँसपात दिएर
छोराछोरी सरह हुर्काएर
कसरी सक्छौ हाम्रो गर्धन चुँडाउन ?
के तिम्रो मन दुख्दैन ?
कसरि सक्छौ
हाम्रो मुटु कलेजो चपाचप चपाउन ?
के तिमीलाई हाम्रो माया लाउदैन ?
के हामीबिना तिम्रो चाड आउँदैन ?
नदेऊ मृत्युदण्ड हामीलाई
आशीर्वाद दिउँला तिमिलाई !