अखाद्य बस्तुको बिक्री वितरणमा बढोत्तरी

अखाद्य बस्तुको बिक्री वितरणमा बढोत्तरी


  • आरपी उपाध्याय, नवलपरासी

पुर्वी नवलपरासीमा अखाद्य बस्तुको बिक्री कार्य बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय र मातहतका निकायहरुले त्यस्ताखाले क्रियाकलाप रोक्न बजार अनुगमन कार्य अगाडि बढाएको छ । जिल्लाअन्तर्गत देउचुली नगरपालिका १५ प्रगतिनगरस्थित जुगुन पाउरोटी उद्योगमा खानतलासी गर्दा उद्योगले उत्पादन गरेका सबै परिकार म्याद नागेको मैदाबाट उत्पादन भएको पाइएपछि ठूलो परिमाणको अखाद्य बस्तु बरामद भएको छ ।

गैरकानुनी कार्यमा सक्रिय उद्योग संचालक मराफिक अहमदलाई नियन्त्रणमा लिइएको र पछि तारिखमा छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिएका छन् ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गैरकानुनी कार्य गर्ने उद्योगलाई आवश्यक दण्ड जरिवाना गरिने जानकारी दिए । दोषी उद्योग प्रशासनको निगरानीमा परेपछि केही पहुँचवाला राजनितिक व्यक्तिहरुले सुक्ष्म ढङ्गले उद्योगलाई बचाउने कार्यको थालनी गरेको पनि बुझिएको छ।

गत साता उद्योगमा खानतलासी गर्दा प्लान्टबाट उद्योगमा प्रयोग हुने विभिन्न केमिकल्स, क्रीम समेत म्याद नागेको पाइएको थियो । टोलीले ११७ पिस पाउरोटी,३० प्याकेट गोलो पाउरोटी, १ प्याकेटमा ३ चक्की रहेको ९४४ प्याकेट पप, १ प्याकेटमा ५ पिस रहेको २३७ प्याकेट, गोलो बिस्कुट ५२ प्याकेट, टोस्ट १०८ प्याकेट बरामद गरेको थियो ।

उपभोक्ताहरुले पटकपटक बजार अनुगमन गर्नुपर्ने आग्रह गरेअनुसार प्रशासनले शंकास्पद उद्योगको निगरानी बढाइ अनुगमन कार्य अगाडि बढाउन थालेको हो । जिल्लाको सुगम ठाउँमा अनुगमन सुरु भएपनि दक्षिणी सिमावर्ती आसपासको इलाकामा पनि अखाद्य बस्तु बिक्री वितरणप्रति प्रशासनको ध्यान नपुग्दा ती ठाउँहरुमा अखाद्य बस्तुको बिक्री वितरण ह्वात्तै बढेको पाइएको छ । यसतर्फ प्रशासनको ध्यान कहिलेसम्म पुग्ने हो ? प्रतिक्षाको विषय बनेको छ।