लमजुङ दरबारको आकर्षण बन्यो यशोब्रम्हको शालिक

लमजुङ दरबारको आकर्षण बन्यो यशोब्रम्हको शालिक


लमजुङको गाउँशहर दरबारमा स्थापना गरिएको राजा यशोब्रम्ह शाहको शालिकले दरबारको रौनक थपिदिएको छ ।

शाहवंशीय राजाहरुको पहिलो दरबार भनिएपनि भवनभन्दा बाहेक केही नभएको दरबार परिसरमा गोरखाका पहिलो राजा यशोब्रम्ह शाहको शालिक बनेपछि दरबारको आकर्षण पनि बढेको छ ।

नेपाल एकीकरणअघि शाहवंशीय राजाहरुको उद्गमस्थल लमजुङको गाउँशहर दरबारमा अहिले आन्तरिक पर्यटकहरु आउन थालेका छन् । दरबार परिसरमा राजा यशोब्रम्ह शाहको शालिक निर्माण भएपछि दरबारको रौनकता थपिएको भन्दै पर्यटकहरु आउन थालेका हुन् ।

राजा यशोव्रम्ह शाहको शालिकले इतिहासलाई जिवन्त बनाएको आन्तरिक पर्यटक भिष्मराज बरालले बताए ।

“इतिहास कहिल्यै मेटिँदैन । दरबारसँगै बनेको राजाको शालिकले पुरानो इतिहासलाई जिवित बनाएको अनुभव भयो,” उनले भने । गाउँशहर दरबारमा १६औँ शताब्दीमा निर्माण गरिएका पुरानो संरचना भएर पनि इतिहास जीवन्त पार्ने सम्पदा नहुँदा गाउँशहर दरबार ओझेलमा पर्दै आएको थियो ।

नेपाली सेनाका पूर्वप्रधान सेनापति पूर्णचन्द्र थापाको पहलमा लमजुङस्थित श्रीजङ गणले १० लाखभन्दा बढी लागतमा यशोब्रम्हको शालिक निर्माण गरेको हो ।

शालिक निर्माण भएसँगै दरबार र तत्कालिन बाईसी–चौबिसी राज्यको इतिहास पढ्न सहज भएको अनुमान गरिएको छ ।

गाउँशहरस्थित लमजुङ दरबारबाट बिस्तार भएको शाह राजाहरुको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो । दरबारको हेरचाहका लागि सरकारले लमजुङ स्मारक तथा दरबार हेरचाह कार्यालय स्थापना गरेको छ । २०४८ सालतिर पुरातत्व विभागले मन्दिर तथा दरबारको पुनर्निर्माण गराएपछि त्यहाँको विकासका लागि थप काम हुन सकेको छैन । २०५४ सालमा लमजुङ दरबार क्षेत्र विकास गुरुयोजना बनाउने भनिए पनि गुरुयोजना तयार नहुँदै स्थानीय निकाय भंग भएपछि यस क्षेत्रको विकासक्रम रोकिएको थियो ।

गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरुको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो ।

शाह राजाहरुको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रशस्त सम्भावना भएपनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझलमा परेको छ ।

ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य छन् ।