डमरु दहमा डुबेर एक व्यक्तिको ज्यान गयो

डमरु दहमा डुबेर एक व्यक्तिको ज्यान गयो


  • हरिप्रसाद भुसाल, अर्घाखाँची

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको ज्यान गएको छ ।

दहमा डुबेका शीतगंगा ३ दह निवासी ३७ वर्षीय खिमबहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो ।

बिहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानियले पानीमुनि हिलोमा गडेको अवस्थामा उद्धार गरेका थिए ।

उद्धार गर्नासाथ नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्‍याइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएको छ ।

पानीमुनिबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताए । ‘यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैन’ रेग्मीले भने ‘तर उहाँ जीवित भने हुनुहुन्न ।’

नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् ।