नेपाली युवा दाजुभाइद्वारा बेल्जियममा सुसी रेष्टुरेण्ट सञ्चालन

नेपाली युवा दाजुभाइद्वारा बेल्जियममा सुसी रेष्टुरेण्ट सञ्चालन


  • सनत आचार्य, बेल्जियम

बेल्जियमको जाभेन्ताम क्षेत्रको कोर्तेनवर्गमा दुई नेपाली युवा दाजुभाइले मिकाजुकी सुसी रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् ।

एक अनौपचारिक कार्यक्रमका साथ संचालनमा ल्याइएको उक्त सुसी रेष्टुरेण्टमा बेल्जियममा पाइने सुसीका परिकारमध्ये स्वादिष्ट र ग्राहकहरूको सन्तुष्टिमा समर्पित रहेको युवा व्यवसायी उत्सव सुवेदीले बताए ।

उनले प्रवासमा व्यवसाय गरेर नेपाली प्रवासी युवाहरूलाई कुनै पनि व्यवसाय संचालनका लागि प्रेरणा दिन र अहिले बेल्जियममा सुसी परिकारका पारखीहरू बढेकाले यसको वास्तविक स्वाद ग्राहकलाई पस्किन व्यवसाय संचालनमा ल्याएको जानकारी दिए ।

संचालक सुवेदीले पछिल्लो एक दशकदेखि बेल्जियममा सुसी बजार अनपेक्षित रुपले बढे पनि यसको वास्तविक स्वाद दिन केही रेष्टुरेण्ट मात्र सफल भएकोले आफूहरूले वास्तविक स्वादको, मिठो र ग्राहकको लगानीअनुरुपको सन्तुष्टि दिने गरी व्यवसाय सञ्चालनमा ल्याएको दाबी गरे ।

त्यस्तै, अर्का संचालक प्रफुल्ल सुवेदीले पनि बेल्जियममा सुसी रेष्टुरेण्ट भएता पनि आफूहरूले तीभन्दा फरक, स्वच्छ, मिठो र ग्राहकले गरेको खर्चको अनुपातमा पर्याप्त सन्तुष्टि प्रदान गर्न व्यवसाय संचालनमा ल्याएको बताए ।

सुवेदी दाजुभाइले बेल्जियममा वास्तविक सुसीको स्वाद क्रमशः हराउँदै गएको उल्लेख गर्दै आफूहरूले यसको वास्तविक स्वादमा सुसीलगायत अन्य परिकार पस्किने जानकारी दिए ।

सो रेस्टुरेण्टमा सुसीका विभिन्न परिकार, थाई करी, ओक, याकितोरी, माछा तथा चिकेनका ग्रील्ड आइटम, सुप, सलादलगायतका विभिन्न परिकारहरू पाइने बताइएको छ ।

करिब ६० हजार युरो लगानीमा संचालनमा ल्याइएको उक्त सुसी रेष्टरेण्टले कोर्तेनवर्ग क्षेत्रका ग्राहकको लागि भरपुर सन्तुष्टि दिन सफल हुने स्थानीय क्रिस्टिन केन्टले बताए । युवा व्यवसायीहरूलाई प्रोत्साहन गर्न आफूहरू यसको प्रचारप्रसारमा लाग्ने केन्टको भनाइ छ ।