हिमपहिरोमा पुरिएका ९ जनाको उद्धार, बाँकीको खोजी जारी

हिमपहिरोमा पुरिएका ९ जनाको उद्धार, बाँकीको खोजी जारी


चुमनुब्री गाउँपालिका-१ सामागाउँस्थित मनास्लु बेस क्याम्पमा सोमबार हिम पहिरो जाँदा पुरिएका ९ जनाको उद्धार गरिएको छ ।

कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पुरिएकामध्ये दोलखा गौरीशंकर गाउँपालिका-५ बस्ने ४४ वर्षीय जितबहादुर शेर्पा र संखुवासभा मकालु गाउँपालिका-१ बस्ने २७ वर्षीय सुकुबहादुर तामाङलाई सोमबार साँझ उद्धार गरी उपचारको लागि करुणा अस्पताल काठमाडौंमा ल्याइएको हो ।

सोलुखुम्ब घर भएका ३५ वर्षीय किनु पेम्वा सहित थप ७ जनालाई मंगलबार उद्धार गरी सामागाउँ ल्याइएकोमा ४ जनालाई उपचारको लागि करूणा अस्पताल कपन पठाइएको छ । पहिरोमा पुरिएका अन्य व्यक्तिहरूको खोजी भइरहेको छ ।

प्रहरीचौकी सामागाउँबाट खटिएको प्रहरीले उद्धार कार्य एवं आवश्यक पहल गरिरहेको छ ।