रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ को मृत्यु, राष्ट्रपति पुटिनद्वारा निन्दा

रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ को मृत्यु, राष्ट्रपति पुटिनद्वारा निन्दा


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई ‘अमानवीय’ भन्दै कडारूपमा निन्दा गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बालबालिकाको मृत्युप्रति गहिरो शोक व्यक्त गरेका हुन् । उक्त ‘आतङ्कवादी हमला’ स्पष्ट रूपमा नवफासिस्ट समूहसँग सम्बन्धित रहेको क्रेमलिनका प्रवक्ताले बताएका छन् ।

रुसको इजेभस्क शहरको एक विद्यालयमा अज्ञात आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको हो । सो घटनमा १४ जना बालबालिका सहित २१ जना घाइते भएका छन् ।

सञ्चारमाध्यमहरूले जनाएअनुसार २५ वर्षीय युवकले इर्कुत्स्क क्षेत्रको उस्ट-इलिम्स्कमा रहेको सैन्य भर्ती कार्यालय नजिकबाट गोली चलाएका थिए ।

आक्रमणकारीले आत्महत्या गरेको, उसको शव फेला परेको र उसले नाजी चिन्ह अङ्कित कालो टि-सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जनाएको छ । आक्रमणकारीसँग कुनै कागजात नभएकाले पहिचान अस्पष्ट रहेको समितिले जनाएको छ ।

आक्रमण भएको विद्यालयमा ९८२ विद्यार्थी र ८० शिक्षक रहेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै उदमुर्त गणतन्त्रको प्रशासनले सोमबारदेखि तीनदिने शोकको घोषणा गरेको छ ।