प्राकृतिक सौन्दर्यता र साधनात्मक पर्व बडादशैँ

प्राकृतिक सौन्दर्यता र साधनात्मक पर्व बडादशैँ


वैदिक धर्मसँग गाँसिएको बडादशैँका अधिकांश पक्षहरू सत्यतापूर्ण हुँदाहुँदै पनि यसभित्र केही भ्रमात्मक पक्षहरू पनि छन् । ती भ्रमात्मक पक्षहरूमा- पशुबली प्रथा, मध्यपान/धुम्रपान गर्ने, जुवातास खेल्ने र खानामा धेरैजसो उत्तेजनात्मक र तमोगुणी खालका प्रयोग हुने जस्ता कुराहरू पनि छन् ।
  • उद्धवप्रसाद भटृराई ‘चैतन्यदीप’

ऋतुहरूमा वसन्तपछि शरदको महिमालाई कविहरूले अति नै सुन्दर ढङ्गले व्याख्या गरेका छन् । शरद ऋतुको मनमोहक वातावरणले मनुष्यको हृदय पग्लिन्छ, मन-मष्तिस्क उर्वरतातिर जान्छ अनि कवि हृदयमा साहित्यको प्रस्फुरण हुन थाल्दछ । यसैले सुन्दर, सफा, स्वच्छ र आनन्दमय वातावरणयुक्त शरदकालीन समयलाई ऋतुहरूको राजा र वसन्त ऋतुलाई रानी मानिएको छ ।

यस ऋतुमा वायुमण्डल धुलो र धुँवाबाट मुक्त भइ आकाश स्वच्छ हुन्छ । प्रकृतिमा अक्सिजनको मात्रा बढेको हुन्छ । सूर्यको प्रचुर मात्रामा प्रकाश मिल्नाले जीव र पशु समुदायमा जीवन्तता बढ्छ र प्राकृतिक वनस्पतीहरूमा हरियाली छाउँछ । सूर्यको पवित्र प्रकाश जब प्रकृतिमा पर्छ त्यसको परावर्तनले प्राकृतिक सुन्दरतामा चमक ल्याउँछ । यस्तै रातमा चन्द्रमाको स्वच्छ प्रकाश पृथ्वीमा पर्नाले प्रकृतिमा अमृततत्वको मात्रा अत्यधिक बढ्न गई साधकहरूमा आध्यात्मिक चेतनाको अभिवृद्धि हुन्छ । चेतनामा शुद्धता बढ्नाले स्वच्छ र हराभरा प्राकृतिमा आनन्दको फुहार छाउँछ । अमृत प्रदायक चन्द्रमाको प्रकाश नदी, जलाशय र पोखरीको पानीमा पर्दा जलपनि विशेष शुद्ध हुन्छ । यसैले शरदऋतुको नवरात्री र पूर्णिमाको दिन विहान स्नान गर्नाले अनन्त पुण्यफल मिल्छ भनेको छ ।

जुन समयमा वायुमण्डल सफा र स्वच्छ हुन्छ त्यतिबेलाको चन्द्र प्रकाशले पृथ्वीको कायाकल्प गरिदिन्छ । यसैले शरदऋतुमा प्रकृतिको मनमोहकताले सबैलाई आलोकित पार्दछ । उज्ज्वल चन्द्रमाको शितल प्रकाशको आनन्द तथा स्वच्छ सूर्यको किरण प्रभाले समस्त जीव समुदाय खेल्दछ, नाच्दछ र हाँस्दछ । यही कारणले शरद ऋतुको समयमा भगवती जगत् जननी प्रकृतिमा हाँस्दछिन् र खेल्दछिन् । त्यसैले यस समयमा भगवतीको आराधनाले मनुष्यको जीवन परिवर्तन भइ आनन्दको वर्षा हुन्छ । यसैले बडादशैँ साधना, तपस्या र ज्ञानप्राप्तिको उपयुक्त समय भएकोले धर्म र अध्यात्मसँग जोडिएको हो ।

धर्म, संस्कृति, चाडपर्व तथा परम्पराहरूले मानिसको जनजीवनमा गहिरो असर पारेको हुन्छ । त्यो असर चाहे अन्धविश्वास नै किन नहोस्- सत्यतालाई उजागर गर्ने खालको हुन्छ । त्यसैले कतिपय परम्पराले समाजलाई माथि उठाउँछ भने कतिपयले अन्धविश्वास बढाउँछ । वैदिक धर्मसँग गाँसिएको बडादशैँका अधिकांश पक्षहरू सत्यतापूर्ण हुँदाहुँदै पनि यसभित्र केही भ्रमात्मक पक्षहरू पनि छन् । ती भ्रमात्मक पक्षहरूमा- पशुबली प्रथा, मध्यपान/धुम्रपान गर्ने, जुवातास खेल्ने र खानामा धेरैजसो उत्तेजनात्मक र तमोगुणी खालका प्रयोग हुने जस्ता कुराहरू पनि छन् ।

बडादशैँमा सप्तमी, अष्टमी र नवमीका दिन क्रमशः महाकाली, महालक्ष्मी र महासरस्वती शक्तिको पूजा र प्रार्थना विशेष अर्थमा गरिने परम्परा पनि छ । श्रीमद्भगवत् गीतामा भने जस्तै कर्म, भक्ति र ज्ञानको त्रिविध आयामलाई पर्वले विशेषरूपमा समेटेको छ । बडादशैँमा सकाम भक्त साधना र तपस्याद्वारा आफ्नो मनोवाञ्छित फल सहजै पाउँछन् भने निष्काम भक्त मुक्ति प्राप्त गर्दछन् । दुर्गा सप्तशति चण्डिमा राजा सुरथ, मेधाऋषि र वैश्यको कथा छ । मेधाऋषिको आज्ञाअनुसार सुरथ राजाले भगवती परमेश्वरीको साधना र तपस्या गरी प्रशन्न पार्न सकेकोले शत्रुहरूबाट पराजित अखण्ड सामाज्यको पुनः प्राप्त गरेका थिए । त्यस्तै, धनको कारण स्त्री र पुत्रद्वारा तिरस्कृत वैराग्यवान् वैश्यले मेधाऋषिकै आज्ञाअनुसार भगवती दुर्गाको उपासनाद्वारा उच्च समाधिको प्राप्त गरे । यसैले दुर्गा भगवतीको उपासकलाई भोग, स्वर्ग र अपुनरावर्ती मोक्ष जस्ता त्रिआयामिक फल मिल्दछ । त्यसैले दशैंभरि दुर्गासप्तशति चण्डीको पाठ र पूजा गर्ने प्रचलन छ ।

संसारमा सबै प्राणी बाँच्न र खुशीमा रमाउन चाहन्छन् । कसैले पनि कसैको खुशी र आनन्द खोस्नु धर्म होइन, प्रेम र खुशी बाँड्नु नै वास्तविक धर्म हो ।

दशैँले दस दिन अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म प्रमुख दिनको रूपमा मानेको भएपनि कोजाग्रत् पूर्णिमासम्मलाई नै पर्वको रूपमा मनाउने गरिन्छ । जसमा प्रथम दिन देवीशक्ति आह्वान गर्नका लागि घटस्थापना गरिन्छ र नौ दिनसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनि, कालरात्रि, महागौरी र सिद्धिदात्रिको तान्त्रोक्त र मान्त्रोक्त विधिले पूजा, अर्चना, वन्दना र ध्यान गरिन्छ । दशौँ दिन विजयादशमी मानी भगवतीको प्रसादस्वरुप मान्यजनको हातबाट राता अक्षताको टीका लगाई आशीर्वाद लिने गरिन्छ । यो प्रकृया कोजाग्रत पूर्णिमाका दिनसम्म चल्छ । सोह्रश्राद्धपछि वडादशैँ, कोजाग्रत पूर्णिमा, दीपावली, हरिबोधनी एकादशी आदि विशेष धार्मिक पर्वहरू आउँछन् ।

धर्म, संस्कृति, चाडपर्व तथा परम्पराहरूले मानिसको जनजीवनमा गहिरो असर पारेको हुन्छ । त्यो असर चाहे अन्धविश्वास नै किन नहोस् सत्यतालाई उजागर गर्ने खालको हुन्छ । त्यसैले कतिपय परम्पराले समाजलाई माथि उठाउँछ भने कतिपयले अन्धविश्वास बढाउँछ । वैदिक धर्मसँग गाँसिएको वडादशैंका अधिकाँश पक्षहरू सत्यतापूर्ण हुँदा हुँदै पनि यसभित्र केही भ्रमात्मक पक्षहरू पनि छन् । जस्तै- मासु जसरी पनि खानैपर्ने, मध्यपान/धुम्रपान गर्ने, जुवातास खेल्ने र खानामा धेरैजसो उत्तेजनात्मक र तमोगुणी खालका प्रयोग हुने जस्ता कुराहरू पनि छन् । दशैँमा मीठा-मीठा खाना खाने र राम्रो कपडा लगाउने बहानामा सबैले खुशी, हर्ष र उल्लास मनाउनु राम्रै हो । तर, खुशी मनाउने नाममा देवीदेवतालाई बली दिने चलन दुःखलाग्दो छ । देवीले अन्याय, भ्रष्टाचार, शोषण, अत्याचार गर्नेहरूको नास गर्नुहुन्छ भन्ने जनविश्वास छ । तर मनुष्यले आफ्नो स्वार्थको लागि मात्र जीव हिंसा गर्नु राम्रो होइन । मनुष्यले सत्यताको नाममा श्रद्धा, विश्वास र आस्थासँग जोडेर आफ्नो स्वार्थ सिद्ध गरिराखेका हुन् । त्यसैले यो विषयमा गहिराइमा अध्ययन र अनुसन्धान हुनुपर्दछ भन्ने पङ्क्तिकारलाई लागेको छ ।

श्रद्धा, विश्वास र परम्परासँग गाँसिएको हुनाले अन्धविश्वास भएपनि यसलाई समाजले चाहे पनि सुधार गर्न सकेको हुँदैन । दशैँ मनुष्यको लागि हर्षोल्लासको समय भए पनि पशु तथा जीवजन्तुको लागि दुःखदायी छ । यसैले पर्वमा हामी पनि खुशी हुन सकौँ र हाम्रा वरपर आश्रित निरीह पशुप्राणी पनि खुशीसाथ रहन सकून् । संसारमा सबै प्राणी बाँच्न र खुशीमा रमाउन चाहन्छन् । कसैले पनि कसैको खुशी र आनन्द खोस्नु धर्म होइन, प्रेम र खुशी बाँड्नु नै वास्तविक धर्म हो ।