चितवनमा नवनिर्मित नेपाल पुलिस स्कुलको भवन उद्‍घाटन

चितवनमा नवनिर्मित नेपाल पुलिस स्कुलको भवन उद्‍घाटन


प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित महिला छात्राबास तथा भान्साघर र सोधपुछ कक्षको उदघाटन गरेका छन् । आइतबार आयोजित एक समारोहबीच उद्‌घाटनपश्चात उनले नवनिर्मित भौतिक संरचनाहरूको निरीक्षणसमेत गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने विद्यालयका पूर्व समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी, अक्षयकोष स्थापना गर्ने पूर्व प्रहरी नायव उपरीक्षक कमल भण्डारी, शिक्षक अनिता देवकोटालगायत प्रहरी सहायक निरीक्षक दिनेश थापा, प्रहरी हवल्दार अमिन बस्नेत, प्रहरी सहायक हवल्दार प्रकाश घिमिरे समेतलाई प्रशंसापत्र प्रदान गरे।

उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले हाल कक्षा ८ सम्म मात्र अध्यापन भइरहेको यस विद्यालयलाई समयानुकुल स्तर वृद्धि गर्ने सन्दर्भमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आजको प्रतिस्पर्धात्मक विश्वजगतमा गुणस्तरीय र प्रविधिजन्य शिक्षा अत्यन्त आवश्यक रहेको हुँदा वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणालीलाई जोड दिनुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक सिंहले विद्यार्थीहरुमा असल व्यक्तित्व र सकारात्मक मानसिकताको विकास गरी राष्ट्र निर्माणमा उनीहरुको भूमिका र समाजप्रतिको दायित्वबोध गराई शिक्षित, सभ्य र क्षमतावान नागरिकमा रुपान्तरण गर्नेतर्फ विद्यालय सदैव गम्‍भीर हुनुपर्नेमा जोड दिए । निर्माण सम्पन्न भएका भौतिक संरचनाले विद्यालयको शिक्षण प्रणाली लगायत अध्ययन र अध्यापन कार्यलाई थप सहज र प्रभावकारी बनाई शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।

विद्यालयका संरक्षक एवं बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यद्वारा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्‍चोकका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणी आचार्यले प्रहरी महानिरीक्षक सिंहलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गरे ।

विद्यालयका प्राचार्य प्रधुन्न पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक ई। ईश्वर थापाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाल सरकारको नियमित बजेट ३ करोड ६८ लाख ३१ हजार ८ सय ५९ रुपयाँ ८८ पैसाको लागतमा महिला छात्रावास तथा भान्साघर र २१ लाख ५७ हजार २ सय ६८ रुपैयाँ ७१ पैसाको लागतमा सोधपुछ कक्षको निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।