युक्रेनमा ‘जनमत संग्रह’ : भोटका लागि घर-घर सेना

युक्रेनमा ‘जनमत संग्रह’ : भोटका लागि घर-घर सेना


रुसमा सामेल हुनको लागि युक्रेनमा स्व-शैलीको ‘जनमत संग्रह’ आयोजना गरेर रुसले भोट संकलन गर्न आफूले कब्जा जमाएका भागहरूमा सशस्त्र सेना घर-घर पठाएको युक्रेनीहरुले बताएका छन् । एनरहोडरकी एक महिलालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार रुसी सेनाले युक्रेनीका घर घर पुगी रुसमा सामेल हुन तयार हो कि होइन भनी सोधेर मौखिक जवाफ लिने र कागजको पानामा जवाफ चिन्ह लगाउने गरेका छन् ।

दक्षिणी खेरसनमा रुसी सुरक्षाकर्मीहरू जनताको मत संकलन गर्न शहरको बीचमा मतपेटिका लिएर उभिएका बताइएको छ । घर-घरमा मतदान ‘सुरक्षा’ का लागि भएको रुसी सञ्चारमाध्यमहरुले प्रचार गरेका छन् ।

विज्ञहरूका अनुसार पाँच दिनसम्म चल्ने स्वघोषित जनमतसंग्रहले रुसलाई युक्रेनका आफूले ओगटेको चार वटा वा आंशिक रूपमा कब्जा गरिएका क्षेत्रहरू गैरकानूनी रूपमा आफ्नो दाबी गर्न अनुमति दिनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जनमतसंग्रहको निन्दा गरेका छन् । रुसीले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरी बल प्रयोग गरेर युक्रेनको भागहरू गाभ्ने प्रयास गर्ने ‘झुटो बहाना’ भएको उनको जिकिर छ ।