सिड्नीमा बैंकर अनिल शाहको उद्घोष : ‘नेपालको अर्थतन्त्र श्रीलंका हुनबाट जोगाउन प्रवासी नेपालीहरूको महत्वपूर्ण भूमिका’

सिड्नीमा बैंकर अनिल शाहको उद्घोष : ‘नेपालको अर्थतन्त्र श्रीलंका हुनबाट जोगाउन प्रवासी नेपालीहरूको महत्वपूर्ण भूमिका’


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपालका चर्चित बैंकर अनिल शाहले अष्ट्रेलियावासी नेपालीहरूलाई नेपालको हाइड्रो र पर्यटन क्षेत्रमा लगानी गर्न सुझाएका छन् । यतिबेला अष्ट्रेलियामा रहेका शाहले मंगलबार सिड्नीमा अन्तराष्ट्रिय उद्यमी महासंघ अष्ट्रेलिया, एनएसडब्ल्यूले सहजकर्ताको भूमिका निभाएको अन्तरक्रिया कार्यक्रममा नेपालको अर्थतन्त्र प्रवासी नेपालीहरूकै कारणले चलेको र प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न नेपाल सरकारले सहज वातावरण बनाइदिनुपर्नेमा जोड दिएका थिए । ‘विदेशमा रहेर तपाईंहरूले गरेको मिहेनत र चुहाएको पसिना कसैले देख्दैन डलर मात्र देख्छ । त्यही डलर नेपाल लगेर लगानी गर्छु भन्दा पनि तपाईंहरूले नेपाल सरकारबाट सहज वातावरण पाउन सक्नुभएको छैन’- उनले गुनासो पोखे ।

अनिल शाहले नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो हुनबाट जोगाउन विदेशमा रहनुहुने नेपालीहरूको महत्वपूर्ण हात रहेको दाबी गरे । उनले अगाडि भने- ‘तपाईहरूले विदेशबाट पठाउनुभएको रकमले नै नेपाल अगाडि बढिरहेको हो । यो कुरा नेपाल सरकारले मनन गरोस् या नगरोस् हामी बैंकरहरूले बुझेका छौँ ।’ शाहले नेपालको लकडाउनको अवस्थामा विदेशबाट वैधानिक रूपमा रकम आउँदा बैंकहरू नै अचम्ममा परेको स्मरण गर्दै अगाडि भने- ‘शिक्षाको नाममा नेपालबाट रकम विदेश गएता पनि विदेशबाट पनि नेपालमा रेमिट्यान्स भित्रिएको वास्तविकतालाई हामीले बिर्सन मिल्दैन ।’

गैरआवासीय नेपालीहरूले दोहोरा नागरिकता पाउनुपर्ने कुरातर्फ अनिल शाह सकारात्मक देखिए । ‘सरकार दोहोरो नागरिकता दिन किन हिच्किचाएको छ बुझ्न सकिएको छैन, दोहोरो नागरिकता विदेशमा हुर्किरहेको नेपालीहरूको दोस्रो पुस्तालाई नेपालसँग जोड्ने बलियो कडी हुन सक्छ । आजको पुस्ताको त नेपालसँग आवतजावत चलेको छ । तर पछि आजका पुस्ताका सन्तानको नाता नेपालसँग जोड्न भए पनि दोहोरो नागरिकता दिनुपर्छ । नेपालसँग कुनै सम्बन्ध नै नभएपछि दोस्रो पुस्ता नेपाल किन आउने र किन लगानी गर्ने ?’ उनले प्रश्न गरे । यसर्थ भावनात्मक सम्बन्धका लागि पनि नेपाल सरकारले दोहोरो नागरिकताप्रति लचिलो हुनैपर्ने उनको जिकिर थियो ।

कार्यक्रममा अष्ट्रेलियाका युवा उद्यमी तथा सामाजिक अभियन्ता डिला खरेलले विदेशमा बस्ने नेपालीहरूले सानो सानो रकम पनि नेपालमा लगानी गर्न पाउनुपर्ने वातावरण सिर्जना गर्न नेपाल सरकारसमक्ष आग्रह गरे । सानो सानोबाटै ठूलो हुने हो । यसबाट राष्ट्रबैंकले अनुमति दिएर कमर्शिएल बैंकहरू मार्फत लगानीबाट भएको फाइदा फिर्ता लेराउन सकिने नीतिको पनि ब्यवस्था गर्नुपर्ने बताए । यसबाट नेपालमा वैदेशिक लगानी र रोजगारी मात्र बढ्ने होइन कि नेपालको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्ने खरेलको भनाइ थियो ।

अन्तरक्रिया कार्यक्रममा अष्ट्रेलियामा रहेका विभिन्न पेशा र क्षेत्रसंग आवद्ध उद्योगी ब्यवसायी एवम् विविध क्षेत्रका ब्यक्ति-ब्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।