नेपाली दूतावासले ब्रसेल्समा यसरी मनायो संविधान दिवस

नेपाली दूतावासले ब्रसेल्समा यसरी मनायो संविधान दिवस


  • सनत आचार्य, ब्रसेल्स

बेल्जियम, नेदरल्याण्ड र लक्जमवर्ग (बेनेलुक्स) का लागि नेपाली दूतावास बेल्जियमले ब्रसेल्समा एक कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि युरोपियन एक्टर्नल एक्सन सर्भिसका कार्यकारी निर्देशक गुनर वेगानले नेपाल र युरोपेली संघको दौत्य र सकारात्मक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भैसकेको जानकारी दिँदै सम्बन्ध स्थापनासँगै इयुले नेपालको राजनैतिक सम्बन्ध, व्यापार, व्यक्ति-व्यक्तिको सम्बन्ध विकास, जलवायु परिवर्तन, ‘रिजनल कनेिक्टभिटि’ जस्ता क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक वेगानले इयुले जर्मन, फ्रान्स र फिनल्याण्डको कुटनैतिक सहयोगबाट नेपालका लागि सानो तर आर्थिक, सामाजिक र राजनैतिक विकासका लागि महत्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो । यस्ता सहयोग ईयुद्वारा स्थापित कोषमार्फत भैरहेको उहाँको भनाइ थियो ।

वगानेले पछिल्लो समयमा युरोपियन युनियनले नेपालका विद्यार्थीहरुको बौद्धिक र शैक्षिक विकासका लागि लागि छात्रवृत्ति कार्यक्रम कार्यान्वयनमा ल्याएको र योमार्फत करिब ८ सय विद्यार्थीहरू लाभान्वित भएको बताउनुभयो । महानिर्देशक वगानेले नेपालको प्राकृतिक सौन्दर्यताबाट लालायित भएर आगामी दिनमा थुप्रै युरोपियन नागरिकहरुले नेपालको भ्रमण गर्ने अपेक्षा आफूले लिएको पनि बताउनुभयो ।

बेनेलुक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले सबैलाई स्वागत गर्दैै नेपालको संविधानले संघीयता, बहुलवाद, विधिका शासन, सामाजिक तथा आर्थिक न्याय र विश्वव्यापी रुपमा मान्यता प्राप्त मानवअधिकार र मौलिक अधिकारहरुको प्रत्याभूत गरेको जानकारी दिँदै यसले मुख्य रुपमा नेपालका आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

आफूहरुले नेपालीहरुको समृृद्धि र विकासका लागि अन्तर्राष्ट्रिय समुदाय र युरोपियन सदस्य राष्ट्रहरुबाट निरन्तर सहयोग पाइरहेकोमा खुसी व्यक्त गर्दै इयुले कोभिडलगायत अन्य समस्या परेको बेलामा सहयोग गरिरहेकोमा यस्तो सहयोग निरन्तर रहने अपेक्षा गर्नुभयो । राजदुत राजभण्डारीले अहिले नेपालमा कोभिडको संक्रमण र समस्या कम भैसकेको जानकारी दिँदै नेपालको मौलिक संस्कृति र सम्पदा अवलोकन गर्न प्रत्येक विदेशी नागरिकलाई एक पटक नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बेनेलुक्समा उद्योग तथा व्यवसाय गर्ने नेपाली मूलका नागरिक, पत्रकार, विभिन्न संघसंस्थाहरुका प्रतिनिधि, ईयुका उच्च पदस्थ कर्मचारी, इयुको तर्फबाट नेपालका लागि पूर्वराजदुत रेन्जेटेरिङ, भारत, बंगलादेशलगायत सार्क तथा हंगेरी र बुल्गेरीयाका राजदूतहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्तमा नेपाली कला र संस्कृति झल्कने विभिन्न लोक नृत्य तथा लाखेनाच प्रस्तुत गरिएको थियो ।