चार जात छत्तीस वर्णको हो नेपाल

चार जात छत्तीस वर्णको हो नेपाल


पाखा लगाइएका राजालाई पनि केवल हिन्दुको बनाइँदैछ । पछिल्ला दश/बाह्र वर्षमा उनको सार्वजनिक उपस्थिति केवल मठ-मन्दिर अनि हिन्दु धार्मिक अनुष्ठान मात्र रहेको छ । अपवादमा एक-दुई उपस्थितिहरू धार्मिक बाहेक अरुमा पनि भएको छ, तर त्यो उल्लेखनीय छैन । यसमा स्वयम् राजाको नै मनसाय भएको भन्नचाहिँ मिल्दैन, किनभने हरेक अभिव्यक्तिमा उनले जनतालाई महत्व दिँदै आएका छन् ।
  • स्वयम्भूनाथ कार्की

हुन त चार जात छत्तीस वर्ण भनाइ असावधानीवश गलत भनिएको हो । चार वर्ण छत्तीस जात भन्नु सही हो भन्नेहरू पनि नभएका हैनन् । सनातनलाई वैदिक जोडेर त्यसको व्यापकता कम गर्न पनि यस्तै सोच लागिपरेको देखिन्छ । भारतीय मठाधीशहरूको अवधारणाअनुसार भनिने हिन्दुमा सनातन सङ्कुचन गर्दा चार जात हैन वर्ण नै हो, ब्राम्हण, क्षेत्री, वैश्य, शुद्र । अनि छत्तीस जातचाहिँ ती चारभित्रका थरहरू । तर त्यो सङ्कुचनबाट बाहिर निक्लनेवित्तिकै चार वर्णले गुरुता गुमाउँछ, चार जात ब्राम्हण, क्षेत्री, वैश्य, शुद्र । जात व्यवस्थाभित्र पर्ने यी चार र तिनीहरूअन्तर्गतका थर गोत्र आदि सबै चार जातको व्यवस्थाभित्रका हुन् । छत्तीस वर्णचाहिँ ती जात व्यवस्था भन्दाबाहिरका अनेकौँ समुदाय, वर्ण आदि । छत्तीसले यहा सङ्ख्या जनाउँदैन धेरै भन्ने जनाउँछ ।

आधुनिक नेपालका निर्माताले यो मुुलुक पहिलेका मल्ल, सेन, शाह आदिले जस्तै आफ्नो सम्पत्ति मानेनन् । त्यसैले उनले क्रमभङ्ग गरे मुलुक राजाको वा शासकको अङ्श लाग्ने सम्पत्ति होइन यो त जनता समेत सबैको साझा सम्पत्ति हो भनेर । त्यसै क्रममा नेपाल सबैको, वर्ण व्यवस्थामा रहेका र नरहेका सबैको साझा हो भन्ने मान्यता कायम गरे । चार जात छत्तीस वर्णको यही अवधारणा हो । नेपाल वैदिक कर्मकाण्डीको पनि हो र प्राकृत परम्परा मान्ने अवैदिकको पनि उत्तिकै हक लाग्ने गरेर साझा हो । यसलाई चार वर्ण छत्तीस जात भन्नेवित्तिकै त्यो विशालता, त्यो व्यापकता खुम्चिन जान्छ । र, वर्तमानमा त्यही व्यापकता खुम्च्याउने प्रयत्न कतैबाट भइरहेको छ । त्यसमा अनजानमै त्यो शाहवंश मान्नेहरूबाटै सहयोग भइरहेको छ ।

राजावादी भनिने, मानिने, ठानिने सबै कुनै न कुनै रूपले सनातनबाट सङ्कुचन भएको हिन्दुको अवधारणाका अभियन्ता भएका छन् । राप्रपा जस्ता राजाको पक्षमा मानिएका, ठानिएका दलहरू हिन्दुत्वको झण्डालाई अरु सबैभन्दा उग्र रूपमा उठाउँछन् । उनीहरूको एजेण्डामा हिन्दुराष्ट्र बनाउने कुरा प्रथम प्राथमिकतामा परेको छ । राजसंस्था या राजाको कुरा भने घुमाउरो तरिकाले बुझ्नुपर्ने भएको छ । तर विडम्बना ! निर्वाचनमा उनीहरूले प्राप्त गरेको मतलाई राजसंस्थाको समर्थनको रूपमा बुझिन्छ । जब कि यस्ता दलहरूलाई राजसंस्था समर्थकको सहानुभूतिसम्म पनि छैन । यहाँ सबै समर्थकको कुरा गरिएको हैन बहुल समर्थक जो यस्ता नेताहरूको चिप्लो भाषण चिन्छन् ।

कुरो यत्तिमै सीमित छैन, पाखा लगाइएका राजालाई पनि केवल हिन्दुको बनाइँदैछ । पछिल्ला दश/बाह्र वर्षमा उनको सार्वजनिक उपस्थिति केवल मठ-मन्दिर अनि हिन्दु धार्मिक अनुष्ठान मात्र रहेको छ । अपवादमा एक-दुई उपस्थितिहरू धार्मिक बाहेक अरुमा पनि भएको छ, तर त्यो उल्लेखनीय भने भएको छैन । यसमा स्वयम् राजाको नै मनसाय भएको भन्नचाहिँ मिल्दैन । किनभने, हरेक अभिव्यक्तिमा उनले जनतालाई महत्व दिँदै आएका छन् । अब उनलाई नेपालका जनता केवल हिन्दु मात्र हैनन् भन्ने कुरा थाहा छैन भन्ने मान्न सकिन्न । तैपनि के कुरोले उनलाई केवल हिन्दुको मात्र राजा हुन् भन्ने छनक दिने बनाएको छ ? आधुनिक नेपाल निर्माता बडामहाराजको अवधारणाविपरीत हुने यस्तो काम पक्कै उनबाट जानेर भएको छैन । त्यसमाथि आफ्ना बुबाज्युले पनि नेपाल नेपालीको साझा अवधारणाको निमित्त काम गरेको देखेपछि त्यसको असर परेकै छैन भन्ने कुरा कसरी मान्ने ? यसको सिधा अर्थ हो कोही-कतैबाट नेपालको गरिमामय राजपरम्परामा प्रहार भइरहेको छ अनि राजावादीहरू त्यो उक्साहटको फन्दामा पर्दैछन् ।

गणतन्त्रले आफूले पाखा लगाएको राजालाई नेपालको सामान्य नागरिक भन्छ । त्यो सामान्य नागरिकले कानुनले, संविधानले दिएका सबै काम गर्न पाउँछ । चाहेमा राजनीति पनि विपक्षीले जस्तो सत्ताधारीको खोइरो खन्न पाउने अधिकार पनि त्यसमा पर्दछ । यस अवस्थामा उनलाई ऐतिहासिक, सांस्कृतिक स्थलहरूको भ्रमण गर्न कसैले रोक्न सक्दैन । मोरङको विराट राजाको दरबार भनिएको स्थल भ्रमण गर्न, झापाको किच्चक बध भ्रमण गर्न रोक्न सक्दैन । मुलुकका सबैजसो क्षेत्रमा यस्ता ऐतिहासिक सांस्कृतिक स्थलहरू छन् । राज्यबाट उपेक्षितसरह रहेका यस्ता स्थानहरूको अवलोकन पहिले शासनमा हुँदा नभ्याएको क्षतिपूर्ति पनि हुन्छ । तर के यो सम्भव होला, राजावादीहरू त राजालाई केवल हिन्दुको बनाउन मेहेनत गर्दैछन् ।