अष्ट्रेलियाका दुई दर्जन भन्दा बढी हलमा प्रेम गीत-३

अष्ट्रेलियाका दुई दर्जन भन्दा बढी हलमा प्रेम गीत-३


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

एक नेपाली सिनेमाले अष्ट्रेलियामा प्रदर्शनको मामिलामा इतिहास लेख्ने भएको छ । यसअघि अष्ट्रेलियाका हलहरू भाडामा लिएर नेपाली सिनेमा प्रदर्शन हुँदै आएको थियो, तर चलचित्र प्रेम गीत-३ भने यहाँका सिनेमाहलहरूमा अन्य भारतीय र अंग्रेजी चलचित्रसरह दैनिक हलहरूमा लाग्ने निश्चित भएको छ ।

यसका लागि लामो समयदेखि प्रयास गर्दै आएका सिड्नीनिवासी देव कार्कीले प्रेम गीत-३ मा आएर यो सफलता हात पारेका छन् ।

अष्ट्रेलियामा नेपाली चलचित्रको प्रदर्शन र नेपाली सांगीतिक कार्यक्रमहरूको आयोजना गर्दै आएका देवका अनुसार नेपाली र हिन्दी गरेर चलचित्र प्रेम गीत-३ ले शुक्रबारसम्म पूरा अष्ट्रेलिया दुई दर्जन भन्दा बढी हलहरू पाएको छ । यो हप्ता हलहरूको संख्या बढ्ने देखिन्छ । उनले भने,’नेपाली सिनेमाको उपस्थिति र वजन अब प्रवासमा रहने हामीहरूले नै उठाउने हो । विदेशका लोभलाग्दा हलहरूमा विदेशी कलाकारहरूको फोटो र पोष्टर हरेर कति दंग पर्ने ? अब हाम्रै कलाकारहरूको पोष्टर र फोटोले विदेशी हलहरू रंगीने दिन आएको छ ।’

यो कार्यलाई नियमित रूपमा अगाडि बढाउन प्रवासमा रहनुहुने यो विधामा आवद्ध सबैमा एकजुटता हुनुपर्ने र यसो भएमा हामी सबैलाई सफलता मिल्ने उनले बताए ।

यही सेप्टेम्बर २३ तारेखका दिन विश्वभरी प्रदर्शनमा आउन लागेको चलचित्र प्रेम गीत-३ त्यसै दिनदेखि अष्ट्रेलियाको इभेन्ट सिनेमा, लाइम लाइट र भिलेज सिनेमामा हिन्दी र नेपाली गरेर दुई भाषामा नियमित प्रदर्शनमा आउने छ । प्रेम गीत-३ को ट्रेलर भने अष्ट्रेलियाका हलहरूमा बज्न थालिसकेको छ । नेपाली सिनेमाको राम्रो दर्शक र बजार भएको अष्ट्रेलियामा प्रेम गीत-३ ले लेख्न लागेको यो इतिहासप्रति यतिबेला अष्ट्रेलियामा रहनुहुने नेपालीहरूको साथ र समर्थन अत्याधिक मिलेकोमा प्रदर्शक देव कार्की दंग छन् ।

‘लामो प्रयास र सोचले मूर्तरूप पाएको छ । भोलि आर्थिक रूपमा के होला भन्न सकिन्न, तर अष्ट्रेलियामा शानका साथ हलिउड र बलिउडका चलचित्रहरूसँगै नेपाली चलचित्रको यो उपस्थिति हामी सबैको लागि गौरवको कुरा हो । अष्ट्रेलियामा रहनुहुने नेपालीहरू सिनेमा हेर्न हलमा आउनुहुने छ र आगामी दिनहरूमा पनि यसैगरी अन्य नेपाली चलचित्रहरूका लागि बाटो खोल्ने वातावरण बन्ने विश्वास मैले लिएको छु’, कार्कीले भने ।