उद्धार गरिएका बालकहरूको अभिभावकसँग पुनर्मिलन

उद्धार गरिएका बालकहरूको अभिभावकसँग पुनर्मिलन


विगत २४ वर्षदेखि बालकहरूको क्षेत्रमा काम गर्दै आएको साथसाथ ‘बालबालिका सँगसँगै’को पहलमा विगत चार महिनादेखि बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिममा रहेका १० जना नेपाली बालकलाई भारतीय सामाजिक संस्था, भारतीय प्रहरी, बालकल्याण समिति मुम्बईको समन्वयमा उद्धार गरिएको थियो ।

उद्धार गरी ल्याइको बालकहरुलाई राष्ट्रिय बाल अधिकार परिषद्, नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा साथसाथ र अन्य संस्थालगायत सरोकारवाला निकायहरुको समन्वयनमा २०७९ भाद्र ३१ गते शुक्रबार परिवारमा पुनर्मिलन गराइएको थियो ।

पछिल्लो समय नेपालबाट विभिन्न बहानामा बालबालिकाहरू ओसारपसार गरी भारतलगायत अन्य मुलुकमा लैजाने क्रम बढेको, साथै बालिका तथा महिला मात्रै बेचविखनमा पर्ने नभइकन बालकहरू पनि उच्च जोखिममा रहेको यस घटनाबाट पुष्टि हुन्छ ।

स्वदेश फिर्ति गरी पुनर्मिलन गराएका १० जना बालकहरुरू रौतहट, सुनसरी र मोरङ जिल्लाका छन् । उद्धार गरी ल्याइएका बालकहरु ११ देखि १७ वर्ष उमेर समुहका रहेका छन् ।

बालकहरुको पारिवारिक पुनर्मिलन गराउने क्रममा राष्ट्रिय बालअधिकार परिषदका देवीप्रसाद डोटेलले बालबालिकाहरुको विषेश हेरचाह गर्ने जिम्मेवारी परिवारको रहेको जानकारी गराए ।

वर्तमान बदलिँदो परिस्थीतिमा मानव बेचबिखनमा महिला तथा बालिका मात्र नभइ बालकहरू पनि उच्च जोखिम रहेको यो घटनाले पुष्टि गरेको साथसाथकी रिर्सोस एक्जुकेटिभ कविता शाहले जानकारी दिइन् । सो कार्यक्रममा मधेश प्रदेश राष्ट्रिय बालअधिकार परिषदका संयोजक संजिव महतोले आफ्ना बालबालिकाप्रति अभिभावकहरू नै चनाखो हुनुपर्नेमा जोड दिँदै बालकहरुको अवस्थाको फलोअप हुने बताए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाकी बालकल्याण अधिकारी सावित्री भण्डारी, महिला बालबालिका सेवा केन्द्र पर्साकी प्रहरी सहायक निरीक्षक नयनकला टमाटा, अधिवक्ता तथा अभियन्ता दिलिप कोइराला, अभियन्ता रसना ढकाल लगायतको उपस्थिति रहेको थियो ।