प्रभावकारी भाषणकला तालिम सुरु

प्रभावकारी भाषणकला तालिम सुरु


नवलपुरको कावासोतीमा प्रभावकारी भाषणकला तथा प्रस्तुतिकरण तालिम सुरु भएको छ । सायरा मिडिया एण्ड इभेण्ट्स प्रालिको आयोजनामा सुरु भएको दुई दिवसीय तालिममा नवलपुरका युवा, विद्यार्थी र विभिन्न संघसस्थामा आवद्ध महिलाहरूको सहभागिता रहेको सायरा मिडिया एण्ड इभेण्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरासँगको सहकार्यमा आयोजित सो कार्यक्रममा मुख्यरूपमा भाषणकला र प्रभावकारी प्रस्तुतिका विषयमा प्रशिक्षण प्रदान गरिने बस्ताकोटीले बताए ।

कार्यक्रमको पहिलो दिन नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक भट्टराईले नवलपुरको आवश्यकतालाई मध्यनजर गर्दै आयोजना गरिएको यस्तो तालिम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले तालिमले सहभागीहरुको क्षमतामा निखारता ल्याउँदै यसले उनीहरु्रको आत्मविश्वास जागृत हुने जनकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले यस प्रकारको तालिमले आफू बोल्न सक्दिनँ भन्ने हीनताबोध हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लाका अन्य स्थानमा पनि यस प्रकारका तालिमको आवश्यकता रहेको भन्दै आयोजकले यसतर्फ ध्यान दिन आग्रह गरे ।

सोही कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल नवलपुरका अध्यक्ष शालिकराम कोइरालाले तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । कोइरालाले बोल्ने कला भनेको निकै महत्वपुर्ण विषय भएको भन्दै यस प्रकारको तालिमले सहभागीहरूको क्षमता वृद्धि हुने बताए ।

नवलपुरको कावासोतीमा स्थापना भएर आफ्नो काम गर्दै आएको सायरा मिडिया एण्ड इभेण्ट्स प्रालिले देशभरि नै क्षमता विकास नेतृत्व विकास र अन्य संचारसँग सम्बन्धित तालिमहरू संचालन गर्दै आएको छ ।