कुपोषणविरूद्ध आसमान नेपालको अग्रसरतामा भिजिनिङ कार्यशाला

कुपोषणविरूद्ध आसमान नेपालको अग्रसरतामा भिजिनिङ कार्यशाला


कुपोषणलाई समाप्त गर्ने ध्येयले ‘आसमान नेपाल’ नामक गैरसरकारी संस्थाले नयाँ कार्यक्रम अघि सारेको छ । यस सिलसिलामा हाल कुपोषणको वास्तविक अवस्थाबारे तथ्यांक संकलन र नागरिक चेतना अभिवृद्धिको लागि मधेश प्रदेशमा कमला नदीप्रभावित क्षेत्रमा भिजिनिङ कार्यशालाहरू आयोजना गरिएका छन् । नेपाललाई ४ वर्षभित्र अल्पविकसितबाट विकासशील अवस्थामा पुर्‍याउने राष्ट्रिय संकल्पलाई मुर्तरुप दिने सन्दर्भमा अवरोधको रूपमा रहेको कुपोषणविरुद्ध आसमान नेपालले काम गर्दै आएको छ ।

मधेश प्रदेशलाई केन्द्रबिन्दु बनाएर दुई दशकभन्दा बढी समयदेखि कार्यरत यो गैरसरकारी संस्थाले गरीबी निवारण, कृषि, दीगो पोषण, मातृशिशु तथा परिवार कल्याण, साना किसान, विपन्नको आयवृद्धिसित सम्बन्धित परियोजनाहरू सञ्चालन गरिआएको छ । नेपालको विकासलक्षित आयोजनाहरूमा सहयोग पुर्‍याइ आएको जर्मन संस्था डब्लुएचएच (वेल्फ हंगर हिल्फ) यस कार्यक्रममा पनि जोडिएको छ । सोही संस्थाको सहयोगमा यो कार्यक्रम सञ्चालन भएको जनाइएको छ ।

पहिलो चरणको यो कार्यक्रममा कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकालाई राखिएकोमा गत साता कर्जन्हा नगरपालिकाबाट सुरु भएको थियो । कल्याणपुरपछि आज बिहीबार सिरहामा कार्यशाला सम्पन्न भएको छ ।

सबै कार्यशालाहरूमा स्थानीय जनप्रतिनिधिहरू, सम्बन्धित नपामा कार्यरत अधिकृत तथा सरकारी र गैरसरकारी सँस्थाका पदाधिकारीको सहभागिता थियो । यी कार्यशालाहरूले पोषण-कुपोषण तथा खाद्य सुरक्षाबारे सरोकारवालालाई जानकारी दिन र नागरिक चेतना जगाउन महत्वपूर्ण पुर्‍याएको सहभागी हरूले बताएका छन् ।

कार्यशालाहरूको संचालन वरिष्ठ पोषणविद् तथा एक्सन फर ट्रान्सफरमेसनका कर्यकारी अध्यक्ष डा. ओजस्वी आचार्यको नेतृत्वमा आएको टोलीले गरेको थियो ।

डा. ओजस्वीले सिरहाजस्तो तुलनात्मक रूपमा विकसित तथा कृषिप्रधान जिल्लामा अझै पनि कुपोषण देखिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै कुपोषण अन्त्य, खाद्य सुरक्षा एवम् पोषणमैत्री समाज निर्माणबारे विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो ।

उहाँले यस्तो कार्यक्रम तेस्रो बहुक्षेत्रिय पोषण नीति र रणनीति तयार गर्ने सन्दर्भमा पनि उपयोगी हुने जानकारी दिनुभयो । कार्यशालामा परामर्शदाता कृष्णराज अर्याल, आसमानका परियोजना प्रमुख सितेश तिवारी, एड्भोकेसी अफिसर वसुन्धरा साह, डब्लुएचएचका उत्तम शर्मा र एअफटीकी अनुशा अधिकारीको सक्रिय भूमिका थियो ।