तिनाउ नदीमा सिग्नेचर पुल निर्माणको तयारी सुरु

तिनाउ नदीमा सिग्नेचर पुल निर्माणको तयारी सुरु


  • symbolic image

के हो सिग्नेचर ब्रिज ?

  • निरा गौतम, रुपन्देही

बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि तयारी शुरु गरिएको छ । चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ । आधुनिक पुलको डिजाइन तयार पारेको नेपाली र विदेशी इन्जिनियरहरुको टोलीले आर्किटेक्ट डिजाइनमाथि बुटवलमा छलफल गरेको छ ।

बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासँग पुलको आर्किटेक्ट डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका हुन् ।

पुल निर्माणको प्रक्रिया अघि बढाउनका लागि बुटवलमा आएका विश्व बैंकका प्रतिनिधिलाई पुल निर्माणमा उपमहानगर सहकार्य गर्न तयार रहेको र बुटवलको आवश्यकताको विषय रहेको बताइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो । पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गरेर निर्णय गर्ने जानकारी गराएको उहाँको भनाइ छ ।

पुलको डिजाइन तयार पार्ने क्रममा पुलको पूर्वी प्रवेशद्वार नजिकै राधाकृष्ण टोल र विकास पथका बीचमा भूमिगत सडक जोड्ने र पश्चिमतर्फको मार्ग पनि कायमै रहने गरी डिजाइनलाई अन्तिम रूप दिन उपमहानगरले सुझाव दिएको छ ।

‘यो सामान्य पुलमात्रै हुनेछैन, यसले जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दू मन्दिर र मुस्लिम मस्जिदका बीचमा समेत मैत्रीभाव राख्ने सन्देश दिने छ’, उहाँले भन्नुभयो, ‘यो पुलको वारिपारि चेक ड्याम बनाएर तलाउ बनाइनेछ र नदी किनारमा आरती गर्ने, रात्रिकालीन बजारमा रमाउने गरी झिलीमिली बत्ती लगाइनेछ ।’ हरियाली बगैँचा, क्याफे र विश्रामस्थलहरु समेत बन्ने हुँदा यसले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने प्रमुख पाण्डे बताउनुहुन्छ ।

‘जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, पुरानो बुटवल, आसपासका धार्मिक र पर्यटकीय स्थलहरुको अवलोकन गर्न पुलले सहयोग गर्ने छ’, उहाँले भन्नुभयो, ‘पुल र यहाँका ऐतिहासिक, पुरातात्विक स्थलहरु एकअर्काका सहयोगी बन्नेछन्, यसबाट पर्यटक आकर्षित हुनेछन् र स्थानीयवासीको व्यापार व्यवसायमा लाभ हुनेछ ।’

सिग्नेचर पुल निर्माणका लागि यसअघि पनि बुटवलमा छलफल भएको थियो । यो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पुल निर्माण कोसेढुङ्गा सावित हुने उपप्रमुख सावित्रादेवी अर्याल बताउनुहुन्छ । ‘यसले बुटवलको विकासमा ठूलो महत्व राख्ने भएकाले यो योजना सम्पन्न गर्न उपमहानगरको साथ र सहयोग रहन्छ’, अर्यालले भन्नुभयो ।

विश्व बैंक दक्षिण एशिया शहरी विकास एकाइकी वरिष्ठ शहरी विकास योजनाकार स्टेफनिया अबकेर्ली तिनाउमा बन्ने पुल नेपालकै नमूना र पर्यटकीय स्थलहरुसँग जोडिएकाले यसले स्थानीय बासिन्दा र स्थानीय सरकारलाई लाभ दिलाउने बताउनुहुन्छ ।

ऐतिहासिक र पर्यटकीय स्थलहरु जितगढी किल्ला र युद्ध सङ्ग्रहालयमा पर्यटक आउनका लागि पुलले समेत सहयोग पु¥याउने उहाँको विश्वास छ । स्थानीय सरकारका तर्फबाट पुल निर्माणका लागि स्थानीयरूपमा समन्वय गरिदिन बुटवल उपमहानगरपालिकालाई योजनाकार स्टेफनिया अबकेर्लीको आग्रह छ ।

सिग्नेचर पुलका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक्ट डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ ।

विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल डिजाइनका लागि यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गर्नुभएको थियो ।

सरकार परिवर्तन भएपछि अर्थमन्त्री जनार्दन शर्माले नौ वटा पुलका लागि विनियोजन भएको रकम काटेर नारायणघाटमा मात्र एउटा सिग्नेचर पुल बनाउने गरी बजेट संशोधन गरेपछि अर्थमन्त्रालयमा तनाव सिर्जना भएको थियो ।

अर्थमन्त्रालयका सचिवहरुले पूर्वअर्थमन्त्री पौडेलकै परिकल्पनाअनुसार सिग्नेचर पुलको बजेट व्यवस्था गरिएकाले बुटवलको पुल नकाट्न आग्रह गरेपछि मन्त्री शर्मा सहमत हुनुभएको थियो । सोहीअनुसार सरकारले अहिले चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा पुल बनाउने तयारी गरेको हो ।

के हो सिग्नेचर ब्रिज (पुल) ?

पुलको आधुनिक प्रकार हो, सिग्नेचर ब्रिज । यो अन्य पुलको तुलनामा निकै आकर्षक हुन्छ । अधिकांश शहर नजिकैका नदीहरुमा इन्जिनियरहरुले सिग्नेचर ब्रिज डिजाइन गर्ने गर्छन् । इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लण्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदि सिग्नेचर ब्रिजका रूपमा परिचित छन् ।

‘यो पुल जहाँपायो त्यहीँ बन्दैन । निश्चित ठाउँमा मात्रै बनाइन्छ’, बुटवल उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर गौतम रौनियार भन्नुहुन्छ ।

लागतको हिसाबले निकै महँगो मानिने सिग्नेचर ब्रिजको अवधारणा भारतबाट सुरु भएको मानिन्छ । भारतको यमुना नदीमा रहेको वाजिरवाद र पूर्वी दिल्ली जोड्ने यमुना नदीका पुल भारतका पहिला सिग्नेचर पुल हुन् ।

सिग्नेचर ब्रिज सिमेट्रिकल आकारमा निर्माण गरिन्छ । त्यसले पुलको सम्पूर्ण भार थाम्ने गर्छ । पछिल्लो समय एसिमेट्रिकल आकारमा पनि सिग्नेचर पुल निर्माण गर्ने प्रचलन छ । सिग्नेचर पुलको डिजाइन निकै जटिल हुने गर्छ । यो ब्रिजको बीचमा पिलर बनाएर पूरै भागलाई तारले धानेको हुन्छ भन्नुहुन्छ, इन्जिनियर रौनियार ।

विदेशतिर बन्ने सिग्नेचर पुलको निर्माणमा उच्च गुणस्तरीय र बाक्लो स्टिल प्रयोग गर्ने गरेको पाइन्छ । आवश्यकता र पुलको डिजाइनअनुसार स्टिल प्रयोग हुन्छ । निर्माणका क्रममा स्टिलसँगै उच्चस्तरको कङ्क्रिट सामग्री प्रयोग गरिन्छ ।

सिग्नेचर पुलमा पाइलोन र डेक सबैभन्दा महत्वपूर्ण कम्पोनेन्ट हुन् । सिग्नेचर पुलको सफलतापूर्ण निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षण, भूगोल, पुल बन्ने स्थान आदि विषयको अध्ययन तथा अनुसन्धान जरुरी हुन्छ । सिग्नेचर पुल निर्माणमा ठूलो क्रेन आवश्यक पर्छ ।

हेर्दा आर्कषक, कलात्मक हुने हुँदा सिग्नेचर पुल अन्य पुलभन्दा फरक खालको हुन्छ । नेपालमा अहिलेसम्म पुरानै शैलीका परम्परागत पुलहरु मात्र बनाइरहेको अवस्थामा बन्ने सिग्नेचर पुलले पर्यटकहरु आकर्षित गर्नेछ ।

बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिजले करिब ३०० मिटर क्षेत्रलाई समेट्ने र सो क्षेत्रलाई सौन्दर्य अभिवृद्धि गर्ने तयारी छ । यो क्षेत्रमा पर्ने जितगढी किल्ला, कृष्ण मन्दिर र मस्जिदलाई समेत समेटेर सौन्दर्य अभिवृद्धि गरिने छ ।