साल्ट ट्रेडिङले तोरीको तेल उत्पादन गर्ने

साल्ट ट्रेडिङले तोरीको तेल उत्पादन गर्ने


साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले एसटिसी ब्राण्डमा तेल उत्पादन गर्ने बताएको छ । आफ्नो ६०औँ वार्षिकोत्सव कार्यक्रममा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङले आफ्नै ब्राण्डको तेल उत्पादन गर्न लागेको जानकारी गराउनुभयो । उपभोक्तालाई गुणस्तरीय तेल उपलब्ध गराउन हेटौँडास्थित नेपाल वनस्पति उद्योग लिमिटेडबाट निकट भविष्यमै एसटिसी ब्राण्डमा तोरी तेल उत्पादन गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।

त्यसैगरी रासायनिक मल आपूर्ति पनि सहज बनाउने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो- ‘नेपाल सरकारले दिएको दायित्व बोध गरी रासायनिक मल आपूर्ति गरेर कृषकमा राहत प्रदान गरेको र अहिले पनि मलको आपूर्तिलाई निरन्तरता दिएको स्मरण गराउन चाहन्छु, कर्पोरेशनले कृषि विकासमा योगदान पु¥याउने उद्देश्यअनुसार अनुदानित मलमा मात्र सीमित नभइ गैरअनुदानित मल आयात गरी बिक्रीवितरण गरिरहेको छ । ’

यस्तै, कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले तोरी तेल उत्पादनसँगै स्थानीयस्तरमा उत्पादित तोरी खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेल उपभोग गर्न पाउने दाबी गर्नुभयो ।

कर्पोरेशनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठले गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोबार बढ्दै गएको बताउनुभयो । श्रेष्ठका अनुसार आव २०७७/०७८ मा मात्रै पाँच करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा कर्पोरेशनले आठ अर्ब ५८ करोडको उपभोग्य वस्तु बिक्री गरेको थियो भने आव २०७४/०७५ मा नौ अर्ब ६८ करोड, आव २०७५/०७६ मा आठ अर्ब २५ करोड, आव २०७६/०७७ मा नौ अर्ब ७४ करोड र आव २०७७/०७८ मा १० अर्ब ३९ करोडको बिक्री गरेको थियो ।

ज्ञातव्य छ, कर्पोरेशनले यस वर्षको लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार निःसहाय बालबालिका सेवा आश्रम (इटहरी)लाई प्रदान गरेको छ । उक्त संस्थालाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको हो । त्यसैगरी यस वर्ष कर्पोरेशन कर्मचारीका छोराछोरीमा एसइई परीक्षामा उत्कृष्ट अंक ल्याइ ‘साल्ट ट्रेडिङ लोकनाथ अनङ्गमान शेरचन छात्रवृत्ति’ प्राप्त गर्ने प्रदेश कार्यालय धनगढीका कर्मचारी तेजबहादुर कुँवरका छोरा पाश्र्व कुँवर तथा साल्ट ट्रेडिङ लोकनाथ जोशी छात्रवृत्ति प्रदेश कार्यालय विराटनगरका कर्मचारी कृष्णकमार आचार्यकी छोरी तेजस्वी आचार्यलाई प्रदान गरिको छ ।

त्यस्तै, कर्पोरेशनका कर्मचारी विष्णुप्रसाद न्यौपाने, तेजबहादुर कार्की तथा राधेश्याम खड्कालाई हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको छ भने ईश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कार सवल रिजाल, काजीबहादुर पराजुली र मंगलबहादुर लामालाई प्रदान गरेको छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार नगद ३५ हजार र हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार ३० हजार रुपैयाँ राशिको रहेको छ ।