म तिमीबिना

म तिमीबिना


  • महेश रेग्मी

मैले एक चोक्टा समयलाई पनि
थिचिरहन सकेको छैन
मसँग समय तटस्थ छैन
म भने रुखजस्तै तटस्थ छु
पहाडजस्तै तटस्थ छु ।

मलाई कुनै महाशभामा जानु छैन
कसैलाई ढुङ्गा हान्नु छैन
प्याच्च थुक्नु छैन
जोरजुलुम गर्नु छैन
द्वन्द्व बेच्नु छैन
मलाई कसैको तारिफमा
बेकारका शब्दहरू खेर फाल्नु छैन
न त शब्दहरूको चिरहरण गर्नु नै छ
न कसैको नाममा विज्ञप्ति जारी गर्नु छ
म सबैबिना पनि आराम छु ।

मैले आफ्नो बासना लुकाउने छैन कतै
तर तिम्रो जीवनको अँध्यारो गल्छीमा
फर्कन्नँ म
अहँ फर्कन्नँ !

मेरा जरा काट्न खोज्नेहरूसँग
म हाँसिदिन्छु मात्र
म उनीहरूको आँखा फोर्न सक्दिनँ
उनीहरू संसार देखून् भन्ठान्दछु ।

मेरो आत्मालाई कसैले कच्याक्कुचुक पार्न सक्ने छैनन्
मेरो आत्मा कतै लुक्ने छैन
मैले आफ्नो प्रकाश छाडेको छु
दूर एकान्तमा
म सबैबिना पनि स्वतन्त्र छु ।

तिम्रो के कुरा ?
तिम्रो रूपको नै के कुरा ?
तिम्रो सदनको के कुरा ?
तिम्रो सदनले पारित गरेको प्रस्तावको के कुरा ?
म सबैबिना पनि चरैवेति चरैवेति…

मेरो प्रिय स्वतन्त्रता !
तर तिमीबिना भने बाँच्न सक्दिनँ ।