सिड्नीमा आइतबार युवा उद्यमी महासंघले अन्तरक्रिया गर्ने

सिड्नीमा आइतबार युवा उद्यमी महासंघले अन्तरक्रिया गर्ने


  • राजन घिमिरे, सिड्नी

प्रवासमा छरिएर रहेका युवा उद्यमीहरूलाई एउटै छानामुनी समेटेर नेपाल र नेपालीको हितका लागि जुटाउने अन्तराष्ट्रिय युवा उद्यमी महासंघको सपनाले यतिबेला मूर्तरूप पाउन थालेको छ । एक वर्षअगाडि मात्र गठन भएको यो संघ यतिबेला डेढ़ दर्जन देशहरूमा फैलिसकेको छ ।

प्रवासमा विभिन्न व्यवसाय, उद्यम र ब्यापारमा लागेर विशिष्टता हात पारेका प्रवासी नेपालीहरूलाई नेपालसँग जोड्ने उद्देश्य संस्थाको रहेको जानकारी महासंघका ग्लोबल अध्यक्ष स्वतन्त्रप्रताप शाहले जानकारी गराएका छन् ।

यसैबीच अन्तराष्ट्रिय युवा उद्यमी महासंघ अष्ट्रेलियाको आयोजनामा सेप्टेम्बर ४ तारेख आइतबार सिड्नीमा एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम सिड्नीको रगडेलमा रहेको झरना फङसन सेन्टरमा ११ बजेदेखि ३ बजेसम्म आयोजना हुने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथिमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश पोखरेल रहनुभएको छ । कार्यक्रममा अष्ट्रेलियामा रहनुहुने युवा उद्यमीहरूको सोच र लगानी नेपालीतर्फ आकर्षित गर्न सकिने वातावरणको सिर्जना कसरी गर्न सकिन्छ भन्नेतर्फ जोड दिइने कुरा संघका अष्ट्रेलिया अध्यक्ष दिक्पालदेव पँगेनीले बताए ।

कार्यक्रमको तयारीको बारेमा जानकारी दिँदै युवा उद्यमी तथा संघका उपाध्यक्ष लक्ष्मण सापकोटाले प्रवासमा रहेका उद्यमी र नेपालमा रहेका उद्यमीबीच व्यावसायिक सम्बन्ध गाँसेर नेपाल र नेपालीको बृहत्तर विकासको लागि माध्यम बन्नु नै कार्यक्रम र संघको उद्देश्य भएको स्पष्ट पारे । कार्यक्रमलाई फलदायी बनाउन आफूहरु लागिरहेको र सबैको साथ सहयोगको अपेक्षा गरिएको सापकोटाले बताए ।

कार्यक्रममा अन्तराष्ट्रिय युवा उद्यमी महासंघको कार्ययोजना र यसले भविष्यमा निभाउने विभिन्न भूमिकाको बारेमा पनि चर्चा हुने कुरा न्यू साउथ वेल्सका सचिव दीपक ज्ञवालीले बताए भने अष्ट्रेलियाकी महासचिव अनुरानी रेग्मीले कार्यक्रममा सहभागी भएर आ-आफ्ना अनुभव र उद्यम गर्दा भोगेका अनुभव साट्न सबैमा आग्रह गरेकी छन् । उनका अनुसार प्रवासमा रहनुहुने युवा उद्यमीहरूलाई नेपालमा काम गर्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा पनि कार्यक्रममा बृहत छलफल गरिने छ ।