चट्याङबाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न

चट्याङबाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न


रौतहटको एउटै गाउँमा आज (मंगलबार) बिहान चट्याङ लागेर तीन महिलाको ज्यान गएको छ ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिका-३ मलाहिटोल गाउँछेउ खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकी ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन् ।

मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिए ।

चट्याङ लागेर एउटै गाउँका तीन जनाको एकसाथ मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा काम गर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी ४० वर्षीया शैलीदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङबाट प्रभावित भएका प्रहरीले जनाएको छ।