थिमी नगरपालिकाले भन्यो- ‘३५ दिन भित्र अवैध संरचना हटाउनु’

थिमी नगरपालिकाले भन्यो- ‘३५ दिन भित्र अवैध संरचना हटाउनु’


कोहलपुर नगरपालिकाद्धारा अवैध संरचना भत्काउन सुरु

मध्यपुर थिमि नगरपालिका (भक्तपुर)ले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डविपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने गरिएको पाइएको छ,’ नगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ, ‘अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सार्वजनिक सूचना जारी गरिएको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।’

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यकालगायत देशैभरका अन्य नगरपालिकामा पनि क्रमशः देखिन थालेको छ ।

यसै क्रममा बाँकेको कोहलपुर नगरपालिकाले सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ ।

सोमबार बिहानबाट नेपाल प्रहरीको सहयोगमा न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको हो ।

कोहलपुर नगरविकास समितिले ३० असारको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडकपेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउने निर्णय गरेअनुसार नै अवैध संरचना हटाउने सुरु गरिएको कोहलपुरका मेयर पूर्ण आचार्यले जानकारी दिए ।

उनका अनुसार समितिको सो निर्णय अनुसार ३५ दिने सुचना जारी गर्दा पनि हटाउन आनाकानी गरेपछि अवैध संरचना हटाउन तथा जग्गा खाली गर्न पुनः तीनदिने सूचना जारी गरिएको थियो ।

नगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको अवधि सकिएलगत्तै अवैध संरचना र कब्जा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

सोमबार बिहान न्युरोडबाट दुई वटा अवैध टहरा भत्काएर अगाडि बढेको डोजरसहितको टोली बसपार्क क्षेत्रमा पुग्दा स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले सुरक्षासमेत दिनु परेको थियो । अब सुरक्षाकर्मी थपेर भए पनि कोहलपुर नगरपालिकाभित्रका सरकारी जग्गामा गरिएको अवैध कब्जा हटाउने मेयर आचार्यले बताए ।