डडेल्धुराबाट प्रदेशसभामा उम्मेदवारी दिने पूर्वमेयर पाठकको घोषणा

डडेल्धुराबाट प्रदेशसभामा उम्मेदवारी दिने पूर्वमेयर पाठकको घोषणा


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्ला अमरगढी नगरपालिकाका पूर्वमेयर मोहनराज पाठकले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभा ‘ख’बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार उम्मेदवारी घोषणा गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाको लागि डडेल्धुरा प्रदेश ‘ख’बाट नेपाली कांग्रेसको.तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारी दिने घोषणा गरेको जनाएका छन् ।

उनले आफ्नो पृष्ठभूमि, योगदान र पार्टीमा गरेको लगानीबारे सामाजिक सञ्जालमा लेखेका छन् । आफू डडेल्धुराबाट प्रदेशसभा सदस्यका लागि योग्य उम्मेदवार भएकोले पार्टीले टिकट दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

‘यसपटक प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन डडेल्धुरा कांग्रेसका साथीहरुको सल्लाह बमोजिम मैले उम्मेदवारीको दाबी गरेको छु । पार्टीका सम्बधित निकाय र नेतृत्वबाट उपयुक्त निणर्य हुनेछ भन्ने कुरामा विश्वस्थ छु,’ भनि उनले जनाएका छन् ।

पाठक २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए ।

को हुन् पाठक ?

पाठक अमरगढी नगरपालिकाका संस्थापक नगरप्रमुख हुन् । उनी वि.सं. २०५४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको नगरप्रमुख बनेका थिए ।

उनले २०४२ देखि नेपाल विद्यार्थी संघबाट राजनितिक यात्रा शुरु गरेका थिए । २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी पक्राउ समेत परेका थिए ।

२०४७ पछि उनि नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य सचिव तथा पटक-पटक महाधिवेशन प्रतिनिधि महासमिति सदस्य भइ महत्वपूर्ण भूमिकामा काम समेत गरिसकेका छन् ।