म र मेरो अनुभूतिको यो पक्ष

म र मेरो अनुभूतिको यो पक्ष


विचार र धर्म
धर्मको बारेमा भन्नैपर्छ कि फरक क्षमता कुनै अर्को क्षमता हुनेको दास हुनु वा मालिक हुनु भन्ने होइन । फरक कामको लागि फरक भूमिकासम्म हो । यो महिला र पुरुषको लागि लागु हुनुपर्छ । फरक पक्षको छनौट र विवेचनाको अधिकार मेरो अधिकार हो त्यो अधिकारले अर्कोलाई रोक्न भएन ।
  • दामोदर पौडेल

अनुप शेषन पौडेल मेरो छोरा, उसले मलाई बडो आत्मविश्वासको साथमा भन्यो, ‘ड्याडी, कतिपय बाबु-आमा बच्चाको भविष्य भन्दा आफ्नो खुसीलाई मतलव राख्छन् । तपाईं त त्यसको अपवाद हुनुहुन्छ । मेरो इच्छाको लागि तपाईंले सबै त्याग गर्न सक्नुहुन्छ ।’ मैले सकारात्मक भएर नै सोधेँ- ‘तिमीले के भन्न खोजेको भन्ने मैले त्यत्ति बुझिनँ कि ? प्रष्ट गर त !’

उसले भन्यो- ‘पाकिस्तानमा एक जना छोराले मुसलमान धर्म मानेछ र त्यसको पीडामा बाबुले आत्महत्या नै गरेछ । भारतमा एक जना छोराले क्रिश्चियन धर्म मानेकोले उसको आमाबाबुले सम्पुर्ण सम्पत्ति नै मन्दिरलाई दान दिएछन् । कति अनुदार बाबुआमा ? म क्रिश्चियन वा मुसलमान वा अरु कुनै धर्ममा लागेर हिन्दु धर्म त्यागेँ भने तपाईं त कहिल्यै मेरो विपक्षमा लाग्नुहुन्न । मेरो खुसीमा सहमति दिनुहुन्छ । म तपाईंजस्तो पिता पाएर गर्व गर्छु ।’

मैले भन्नैपर्ने भयो- त्यसो होइन, म तिमीसँग म सहमत छैन । मलाई मेरो छोराले तत्कालको फाइदाको लागि मेरा र उसका सन्तान-दरसन्तान तथा पृथ्वीको आउँदो पुस्तालाई महसूस हुने वा नहुने तर नराम्रो असर गर्ने लिगेसी छोडेर मानव स्वतन्त्रताको सकारात्मक पक्षलाई बाधक बनाएको वा बनाउन सुरुवात गरेको स्वीकार गर्न सक्दिनँ । विचार र धर्मको कुरा तिमी र म बीचको सवाल मात्र हैन, मानव सभ्यतालाई सहिष्णु मात्र नभइ विविधताको रङ्गमा रमाउने र रमाएको देख्ने वा त्यो अवस्था नचाहने बीचको विवादमा म मेरो पहिचान विविधताको पक्षमा रहन्छ । म विविध विचार र धर्महरू आपसमा मिलेर अरुका भनिने राम्रो कुरालाई आत्मसात गरेर मेरो राम्रो कुरालाई पनि अरुले आत्मसात गर्ने समाजमा बसुँ र बस्न पाउँ । त्यसको विपक्षमा मेरो कुनै सम्झौता नै हुँदैन । भगवान्, ईश्वर, गड, अल्लाह वा अरु कुनै नाम देउ वा प्रकृति नै भन, यसको अस्तित्व नै मुलत: बहुलतामा आधारित छ । बहुलता अझ बढी राम्रो र ज्यादा सापेक्ष सत्यको पथमा जानको लागि सुगम छ । कहिले आवश्यकता नै फरक र कहिले आवश्यकता समान भए पनि पूर्ति गर्ने माध्यम फरक हुन्छन् । ती फरकहरू जात, धर्म, संस्कृति, परम्पराको बन्धन र रोकावट नभइ परिस्थिति र परिवेश तथा चाहनाको आधारमा छान्ने स्वतन्त्रतालाई दुरुपयोग गरेर कुनै एक विचार मात्र ठिक हो भन्ने सोचको पछि लाग्ने कार्य श्रृष्टि र समाज विकास क्रम भन्दा फरक हो । यो अस्वभाविक कार्यमा मेरो विमति छ । त्यस्तो अस्वभाविक सिकाई, सोच, ब्यवहारलाई म अस्विकार गर्छु । त्यसलाई हतोत्साहित गर्न चाहन्छु । मेरो समर्थन आउँदा जीवनहरूको पुस्तौँको हितको लागि हो ।

छोरोको चाहना क्रिश्चियन धर्ममा लाग्ने पो थियो कि ? मलाई प्रष्ट भएन र, सोध्ने आवश्यकता पनि थिएन । मैले भनेँ- क्रिश्चियन धर्म अन्यायको विरुद्धमा माया र आफ्नै बलिदानबाट सुरु भएको हो । मुसलमान धर्म पनि अन्यायीहरू र गलत गर्नेहरूको विरुद्धमा आक्रमण गरेर सुरु भएको हो । सुरुमा यी धर्महरू अपेक्षाकृत समाज सुधारमा आधारित थिए । राम, कृष्ण, वुद्ध, महावीर, सिख धर्म गुरु आदिका सन्देशहरू पनि परिवर्तनकारी र समाज सुधारका लागि नै थिए ।

मेरो चाहना मेरा मात्र नभइ सबैका सन्तानहरू संधै धेरै प्रकारका निश्छल खुसीहरूमा रमाउन पाउन् भन्ने हो । उनीहरूले एक प्रकारको खुसी कुनै कारणले चाहे र पाए भने, कुनै पनि समयमा त्यो खुसीभन्दा अझै राम्रो खुसी पाउन सक्दैनन् भन्ने होइन । कहिले त त्यो खुसी भ्रम पनि त हुन सक्छ, यदि त्यसो रहेछ भने त्यहाँबाट बाहिर सजिलैसँग र कुनै डरविना बाहिर निस्कन पाउन् भन्ने पनि हो । संधै मन परे पनि वा नपरे पनि अरु खुसीसँग तुलना नै गर्न नपाउने र अरु खुसीका श्रोतहरूलाई जन्मदेखि नै जति नै राम्रो वा नराम्रो जे भए पनि आफूले निष्पक्ष नै भएर हेर्न नपाउँदै नियोजित रुपमा सिकाएको र बानी परेको आधारमा बोल्ने अवस्था आउने र डरले वा विरोध गरेमा ज्यान नै जाने त्रासले कुनैलाई राम्रो भन्नुपर्ने बाध्यता नहोस् । कुनै धर्म, क्षेत्र, जात, लिङ्गमा जन्मेकोले समान रुपमा पाउनुपर्ने कुरा पनि पनि समान रूपमा नपाउनुलाई उपरवालाको हुकुम मान्नुपर्ने बन्धनमा मेरा सन्तानका कुनै पुस्ता पनि पर्न नपरोस् भन्ने मेरो चाहना हो । मेरा सन्तानहरूको खुसी मेरा दरसन्तानहरूको फरक खुसी पारख गर्न नपाउने केवल अतीतदेखि आएको पुरानो खुसीमा मात्र सीमित नहोस् । पौडी खेल्नको लागि छानिएको खुसी पछि घोडचडी बनेर लिनै नपाइने खुसी मलाई चाहिएन । आज पेट भर्नको लागि भुजा खाएकोमा भोलि रोटी खानै नपाइने एक तमासको खुसी म मेरा सन्तान दरसन्तानलाई दिन चाहन्न र मलाई चाहिँदैन । तिम्रो खुसी तिम्रा सन्तान दरसन्तानहरूको फरक किसिमले खुसी हुन पाउने अधिकारको बाधक बन्नु हुँदैन । कुनै पनि नयाँ खुसीहरू पहिलादेखि मानिएकोे खुसीको बन्धक बन्ने हो भने यसले मानिसलाई वास्तवमा मानिस भएर बाँच्न दिँदैन । संधै नयाँ परिवेश खोज्ने मानिसलाई पूर्वनिर्धारित चाहनाको मात्र बाटो स्वीकार्य हुन सक्दैन । बाँच्नको लागि आधारभूत समान मानवीय आवश्यकताहरू छिन्ने कुनै पनि विचार र धर्म मलाई मञ्जुर छैन ।

मलाई त केही थपघट हुन सक्ने केही नकारात्मक वा गर्न नपाईने सूचि मात्र मञ्जुर छन्, अनुमति दिइएका केही वा धेरै स्थायी सकारात्मक सूचि मलाई मञ्जुर छैनन् । राम्रो विचारको दुरुपयोग भएको जटिल अवस्थामा केही सकारात्मक सूचिहरू केही समयको लागि मात्र हुन सक्छन् । किनकि मानिस जति नै जान्ने भए पनि उसले अनन्त ब्रम्हाण्डको बारेमा जानेको कुरा जहिले पनि नगन्य नै हुन्छ । त्यस्तोले संसारमा मानिसलाई स्थायीरूपले यो मात्र गर भन्ने सकारात्मक सूची बनाउने क्षमता र अधिकार कसरी पाउन सक्ला ? उपरवालाले पनि सकारात्मक सूचिका स्थायी प्रावधान बनाउन सक्दैनन् । समय र परिवेश तथा विकासले पहिलाका धेरै राम्रा कुरा र कामलाई अप्रासङ्गिक बनाइदिन्छ । त्यसैले त उपरवाला, सन्देशवाहकहरू, विवेकशील विद्वान्हरू समय–समयमा सत्ज्ञान दिन आउँछन् ।

तैपनि अरुलाई निषेध गर्ने विचारलाई निषेध नै गर्न भन्दा त्यसको अस्तित्व थियो भन्ने जानकारीको लागि पनि त्यो विचार जहिले पनि रहनुपर्छ । ब्यवहारिक सवलताको छेकवार भएन भने त्यसले अरुलाई निषेध गरेर आफूभित्र पनि निषेधहरू खोज्छ र आफूलाई अझै साँघुरो बनाउँदै जान्छ । मैले सुनेको छु कि कुरान र वाइवल मान्नेहरूमा सुरुमा कुनै फरक सम्प्रदायहरू थिएनन् । त्यहाँ भएका कुनै विषेश कुराहरूको ज्यादा मान्यता र कुनै कुरालाई कम महत्व दिने कुराका विवादहरूले फरक सम्प्रदाय बने । आफैभित्रका असहिष्णु मानसिकता आफूभित्रका निषेधहरू हुन् । कम्युनिष्ट चीन र कम्युनिष्ट रुस हुँदा तथा चीन र भियतनामबीच पनि युद्ध भएका हुन् । के यी आफूभित्रका निषेधहरू होइनन् त । तिम्रो र मेरो वैचारिक ब्यापकताको हैसियत एउटै हो तर तिम्रो विचारले आफ्नो विचारलाई द्वन्द्वात्मक आवस्यकताको सहृदयताको अवस्थामा लग्नबाट रोक्छ र त्यसले वैचारिक विकासको खुलापनलाई रोक्छ भने यसले अझ राम्रो अवस्थाको सम्भावनलाई अवश्य रोक्छ ।

अरुलाई निषेध गर्ने विचार वा धर्म आफैमा वैचारिक आधारमा कमजोर छ । के आफ्नो विचार राम्रो छ भन्ने हो भने विचारबाट प्रतिकार गरे भयो किन अरुलाई निषेध गरिन्छ ? अन्यथा, त्यो धर्म घाम र, अर्को धर्मचाहिँ बत्ती पनि हैन भने उज्यालोको लागि विकल्पको पछि को लाग्ला र ? त्यसैले केही बानी परेकाहरूले आँखा चिम्लेर हिँड्न सके भनेको आधारमा प्रकास र उज्यालोको औचित्य समाप्त हुँदैन । हिँड्ने गोरेटो चाहिन्छ तर गोरेटोबाट नै अर्को छोटो गोरेटो र राम्रो बाटोको परिकल्पनालाई निषेध गर्ने हो भने जीवन दिनदिनै भलिवल खेल्न मात्र गएको जस्तो त हुँदैन ? अरुलाई निषेध गर्ने विचारलाई आत्मसात गर्ने भनेको सुगाको हुल मिठो खाना राखेको जालमा लोभले परे जस्तो हो । जसले गर्दा उनीहरूले एक छिनको लागि नयाँ मालिकको चारामा भरपर्ने होइन र ती सुगाका हुलहरूका सयौँ पुस्ताहरूले उसको गल्तीको कारण मालिकको दानाको भरमा र मालिकको चाहनाको भरमा बच्नु पर्छ ।

तिमीले मान्ने घर्म वा विचारको सनातन वा कुनै अर्को नाम देउ मलाई कुनै चासो भएन, मेरो चासो भनेको तिम्रो छनौट अझ राम्रो छनौटको लागि वा विकल्पको लागि अरुलाई निषेध गर्ने अधिकार नभएको विचारको रूपमा हुनैपर्छ । जुनसुकै विचार भए पनि त्यो विचारले मृत्युपछि हैन पृथ्वीमा नै मुख्य अधिकार र समानतामा आधारित अधिकार सबै कार्यको पहिलो सर्त हुनुपर्छ । काल्पनिक होइन ब्यवहारिक र अपवाद हैन मूल अवस्थाको आधारमा निर्णयहरू हुन आवश्यक हुन्छ । कसैले पनि कुनै पनि विचार लिने अधिकार छ र मेरो विचार र धर्म सर्वश्रेष्ठ छ भन्ने पनि अधिकार छ । तर मेरो मात्र ठिक हो भनेर अरुको विचार र धर्मलाई निषेध गर्नेलाई म ठिक भन्न र स्विकार गर्न सक्दिनँ, आत्मसात गर्ने त कुरै भएन । गल्ती मानिसले नै गर्छ र गल्ती हो भन्ने जानकारी पाएपछि सुधार्नु मानविय हो भन्ने भावनालाई साकार अवस्था दिनको लागि अरुको निषेध नै प्रमुख रोकावट हो । जुन मानवीय होइन त्यो उपयुक्त हुँदैन ।

अझै धर्मको बारेमा भन्नैपर्छ कि फरक क्षमता कुनै अर्को क्षमता हुनेको दास हुनु वा मालिक हुनु भन्ने होइन । फरक कामको लागि सम्म फरक भूमिकासम्म हो । यो महिला र पुरुषको लागि लागु हुनुपर्छ । फरक पक्षको छनौट र विवेचनाको अधिकार मेरो अधिकार हो त्यो अधिकारले अर्कोलाई रोक्न भएन । किनभने तिमीले जसरी पहिलाको भन्दा राम्रो लागेकोले पहिलाको विचार र धर्म बदल्न खोज्यौ त्यसरी नै त्यो विचार वा धर्मको विकल्पमा अर्को राम्रो देखेमा त्यो छोड्ने वा देख्ने अधिकार पनि सुरक्षित गर्ने अधिकार सुक्षित राख्नु तिम्रा सन्तान दरसन्तानको लागि पनि आवश्यक र औचित्यपूर्ण छ । म गल्ती नै छैन भन्न सक्दिनँ तर मेरो अरुलाई निषेध नगर्ने विचार र धर्मले मलाई गल्ती सुधार्न र राम्रो छान्नको लागि संधै मेरो र मेरा आउँदा पुस्ताको लागि अधिकार सुरक्षित गर्छ ।