तीज महात्म्य !

तीज महात्म्य !


  • लामिछाने मातृका

यो तीज भन्ने चीज कस्तो ? पहिले भन्दा अहिले भो सस्तो । बजारमा नुन भन्दा सुन भो सस्तो भनेजस्तो । खोइ कस्तो कस्तो ? पहिले राति मात्र खान्थे दर, आजकाल रातमा लाग्छ रे डर…, त्यही भएर दिउँसै बत्ति बालेर खान थाले, मिति भन्दा सात दिन पहिल्यै माइत जान थाले ।

पहिले पहिले दर भन्दै आधा रातमा टुकी बालेर खिर खान्थे, खिर खान पनि नपाउनेले पिर मान्थे । भोको पेट टुमारेर पटुका कसी रात काट्थे । अहिले नाना नामान्तका दुइखुट्टे चारखुट्टे जलमा पौडिने थलमा दौडिने सबै खालका जीव, जन्तु, जनावरदेखि उड्ता पन्छी सबका मांसपिण्ड खान थाले । त्यही भएर यसपाला तीस किलाको घोर्ले ढाले हाम्रा पनि बाले । डाइटिङको अभाव र खानपिनको प्रभावले थलिएका बुढीकन्याहरु छतछतमा भेला भएर पोइला जान पाम भन्दै जान्नु न तान्नुको तालमा भाँचिनसक्नुको कम्मर भाँच्दै जाँदा, नाच्दै जाँदा शैलेन्द्र सिम्खडाले भनेजस्तो बिचरा त्यो पञ्चकन्याको पिलन्धरे डण्डीले कसरी थेगोस् ।

पहिले पहिले नारीको तीज आजकल त भाले जातिलाई हुन थालेछ चिज । केटाले पनि तीजका गीत गाउन र नाच्न थाले अब बाँकी के नै रहयो र ? मात्र फरिया फेरेर महिलाको रुप धारण गरे हुने भयो । हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा भन्दै महिलाजनको बीचमा नौटंकी देखाउँदै गरेका केही भाले मित्रहरुलाई मैले सोधें, ‘के छ तीज पुरुषको असीमित संलग्नता राम्रो हो ?’ मित्रले कहे, ‘हेर्नुस्.. अबको जमाना महिला-पुरुष समान । त्यसैले हरेक कुरामा समानता आवश्यक छ ।’

पुरुष पात्रसँग एलिजा स्टायलमा कम्मर मर्काउँदै गरेकी एकजना नारी मित्रले त मेरा नाकमा चोर ओउँला ठोसुँला झैँ गरि झन् ठूलो चुनौती दिइन् । उनि कहन्छिन, ‘हेर्नुस् यिनै पुरुषलाई पाउन हामी नखाइ नखाइ यसरी उफ्रिन्छौँ, यिनको उपस्थितिमा मात्र हाम्रो पूर्णता छ, हाम्रो कामना र पुकार सुनेरै होला शिवजीले यिनलाई हामीसँग नाच्न पठाइदिएको । यिनकै सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै तीजको ब्रत बसेको अनि । यिनले हामीसँग उ गरे त के बिगारे ? यिनले दिएको अर्तिले मलाई हल्का पुरुषप्रतिको सदासयता हो भन्ने भो । त्यो त ठिकै होला तर नातिनातिना खेलाउने अधबैंसे उमेरकाले चाहिँ किन पोइला जान पाम भन्नु ? पोइल जाने नै मन भए गीत गाएर ढोलक ठोकेर दश गाउँ खबर गरेर झ्याली पिटेर जानुपर्छ र सुटुक्कै फ्लाइङ म्यारिज गरे त भैगो नि ।

यता सालिन्दा अधबैंसे कन्या कोमल ओलीले झोली थाप्दै शिवजीसँग निहुँ खोज्ने झगडा गर्ने घुर्क्याउने गर्छिन्, धत्तेरिका शिवजी भन्छिन् घरि के भन्छिन् ? कमसेकम पितातीर्थका दिन पिताजीलाई घुर्क्याएको भए यतिञ्जेलसम्ममा तिनका छोराछोरीको पनि बिहेबारी भैसक्थ्यो होला । कतै शिवसँग मागेर पनि कहीँ हुन्छ कहीँ पाइन्छ ? विचार उनैलाई त बिष्णुजीले कसो कसो झुक्याएर कन्या खोज्दिए, बरु कृष्णजीलाई भन्या भए एउटा न एउटा ग्वाला भिराइदिन्थे होलान् ।

बेरोजगार, स्वरोजगार र कामकाजी सवै किसिमका महिलाहरु झरिझुट्टसँगले भए भरका सक्कली नक्कली गरगहना लगाएर पहेँलपुर भइ रातो सारी फरर पारी छमछम नाच्न थालेसी यो मन पनि उ हुँदो रैछ । केही दिनदेखिको कचकचले गर्दा बसी खानु नभएसी सुन भन्दा कम छैन हराएमा डर छैन भन्ने गहना ल्याइदिएँ मेरी मैतालुलाई पनि । करोड’पति’ पाउने भाग्य भए पो सक्कली लाउँथी, यस्तै रोड’पति’ भेटेसी त्यही सिटी गोल्डले भए पनि सन्तोक मान्नै पऱ्यो नि विचरीलाई । आमाको दुध चुस्न नपाए बाबुको घुँडो भए पनि चुस्नु रे, भोक नमेटिए नि तलतल त मेटिन्छ भने झैँ भयो मेरी जहानलाई । घरमा खाने नुनको जोहो गर्न समेत धौधौ परिरा बेला कहाँबाट गर्नु उनको इच्छा पूरा ।

आजकल घरैपिच्छे टोलैपिच्छे नागपञ्चमी कटेसी तीजको योजना बुनिन्छ । जनैपूर्णिमा लाग्नै नपाइ तीजको गीत सुनिन्छ । हिजोआज तीजको चीज अलि घटेकै हो भन्ने कुरामा दुई मत छैन । एक दिन दुई दिन हुँदा त ठीकै थियो तर ठ्याक्कै रमदान जस्तो महिना दिनसम्म मनाउँदा चाहिँ यसको महिमा महाभारतको सानो भाइ गीता भए जस्तो भाको छ । हुन त महाभारत सागर हो गीता अमृत हो तर तीज पूरै अमृत हुन सकेन ।

हिजोआजको तीज गीत गाउनेलाई भन्दा सुन्नेलाई झर्को, नाच पनि उस्तै देखाउनेलाई भन्दा देख्नेलाई लाजमर्दो । हाँडीमा मकै भुट्या जस्तो स्वर हुनेले पनि गीत गाउन थाले । बजारमा भाइरल भएका नाचका नौ रंग देखेर ताण्डबकाका शिवजी र स्वर्गका नर्तकीहरु पनि तिन छक होलान् । सोच्दा हुन् हामी अप्सराहरुले पनि पृथ्वीलोकका मनुष्यबाट सिक्नपर्ने धेरै रैछ ।

कपडा पनि के लाका हुन हरे शिव गाँठे । पहिले पहिले बाह्रहाते सारी चाहिन्थ्यो अहिले चारहाते लाइन्छ, कता फेद कता पारि पतै पाइन्न । अङ्ग प्रत्यङ्ग एक धरो कपडाले धान्न नसकेर सबै छताछुल्ल होला जस्तो । चोली हेऱ्यो अगाडि छ्याङ्ग पछाडि ह्वाङ्ग । सारी पनि कटिभन्दा ४ इन्च मुनि छ । पटुकी त उहिल्यै मरिसकी, बिचरी फरिया नाभीस्थलबाट भीरमुनि झरीसकी ।

भन्नेले भन्दा हुन प्रजातन्त्र आको छ, जे मन पसन्द छ त्यही लाको छ । अरुलाई के खाँचो । मैले भन्दिए- ‘ए नानी हाम्ले भन्या चाहिँ गलत कि साँचो ? हुन त कसैले पनि खाको र लाको कुरा नगर्नु भन्थे, नगरुँ खसखस हुने मुख चिलाउने गरुँ त बिचरीहरुको मन चसचस हुने । यो मान्छेको जातै कस्तो हो ? अर्काको खिसीट्युरी नगरी खाएकै पच्दैन । आ पचे पचोस् न पचे नपचोस् । दर पचोस् तर लाज नपचोस् । त्यसैले होस् गर्नुस् कलिजुगमा मान्छेलाई कसैको डर हुँदैन अनि त आजकल दरको भर हुँदैन । मिठो पाए पेट लाग्छ, छिटो खाए पेट काट्छ । जय होस् तीजको !’