सुदूरपश्चिममा गौरापर्वको चहलपहल शुरु

सुदूरपश्चिममा गौरापर्वको चहलपहल शुरु


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिमको एकताको प्रतीकको रुपमा रहेकोे सांँस्कृतिक र लोकप्रिय महान् चाड गौरापर्व नजिकिँदै गर्दा डडेल्धुरामा पनि चहलपहल शुरु भएको छ ।

सुदूरपश्चिमका जनता र विशेषगरी महिलाका लागि जीवनशैलीसँग गाँसिएको नारीहरुको महत्वपूर्ण र महान् चाड गौरापर्वमा भगवान् शिवलाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि भाद्र शुक्ल पञ्चमीदेखि एक हप्तासम्म भव्यताका साथ मनाइने भएकोले महिलाहरुले गौरापूजन सामग्री किनमेल गर्न बजारमा व्यस्त देखिएका छन् ।

बैदिककालमा हैहयवंशीका शुरबीरहरुको अत्याचारबाट भृगुवंशीका ब्राह्मणीहरूको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आरधनाको प्रभावले संकट पार गरेको भन्ने जनश्रुतिअनुसार यो पर्व महिलाहरूले शुद्ध खानपान, चोखो नयाँ लुगा लगाइ अत्यन्त भक्तिभावले पञ्चमीका दिन विधिवत रुपमा प्रसाद राखिएको पाँच दलहन अन्नको बिरुडा धुने, सप्तमीका दिन पाँच पवित्र घाँसको गौरालाई गौरामाताको प्रतीकको रूपमा उपवासका साथ नियमित पूजा गरि धुमधामका साथ मनाउने भएकाले नयाँ लुगा किन्ने, श्रृङ्गारका सामानहरु किन्ने महिलाहरूले लगाउने पवित्र धागो दुवीधागो किन्नेलगायत आवश्यक गहना बनाउने जस्ता तयारीमा जुटेका छन् ।

भगवान् शिव र माता पार्वतीस्वरुप गौरापर्वमा गरिने व्रतबाट सु-स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरूमा अटल विश्वास रहेको पाइन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाइ मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रूपमा पनि विशेष गरी मनाइन्छ ।

सुदूरपश्चिमवासीको जनजीवन र सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परादेखि चलीआएका फाग, अठवाली, पुरुषहरुको चैत धुमारीका साथै डेउडा खेलेर विविध कार्यक्रमका साथ आयोजना गरि भाद्र शुक्ल पञ्चमी अर्थात् भाद्र १६ गतेदेखि शुरु हुँदैछ ।

यसैगरी महान् पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०७९’ हुने भएको छ । विगतका वर्षहरु झैँ यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो । गौरा महोत्वस यहीँ भदौ २१ गतेदेखि २४ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ । महोत्सवमा गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुईचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा जस्ता सांस्कृतिक कार्यक्रमहरू हुने भएका छन् ।

महोत्सवमा संस्कृतीको ख्याल गर्दै परम्पराअनुसार नै मनाउने राधाकृष्ण मन्दिर विकास समितिले जनाएको छ । स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढीमा हस्तान्तरण होस् भन्ने महोत्सवको उद्देश्य रहेको राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताए । विभिन्न संघसंस्थाको सहयोगमा ‘राष्ट्रिय गौरा महोत्सव’को आयोजना गरिएको उनको भनाइ छ ।