युवा, महिला एवम् विज्ञ सम्मेलनको तयारीमा एनआरएनए युरोप क्षेत्र

युवा, महिला एवम् विज्ञ सम्मेलनको तयारीमा एनआरएनए युरोप क्षेत्र


गैरआवासीय नेपाली सङ्घ युरोप क्षेत्रले ‘Partnership in Action for Transformation’ भन्ने नाराका साथ आगामी सेप्टेम्बर २४ र २५ तारिकका दिन स्विडेनको राजधानी स्टकहोममा १४औँ युरोपियन क्षेत्रिय बैठकसँगै युवा सम्मेलन र १२औँ महिला एवम् विज्ञ सम्मेलनको आयोजना गरेको छ । युरोप क्षेत्रले भेला आयोजनाका निमित्त आन्तरिक तयारीहरूलाई लगभग पूरा गरिसकेको सङ्घले जनाएको छ ।

भेलालाई सफल तुल्याउन युरोपस्थित क्षेत्रीय पदाधिकारीहरूको बैठकले विभिन्न समिति, उपसमितिको गठन सँगसँगै भेलालाई चुस्त तुल्याउनका निमित्त सरोकार राख्ने व्यक्ति तथा निकायहरूसँग छलफल गरिरहेको युरोप क्षेत्रका संयोजक तथा भेला आयोजक समितिका अध्यक्षद्वय सन्तोष भट्टराई र चिन्तामणि सापकोटाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

भेला आयोजनाका निमित्त क्षेत्रिय संयोजकद्वयको अध्यक्षतामा युरोप क्षेत्रका पदाधिकारीहरू, क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरू, सम्बन्धित राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष र महासचिवहरूलाई पदेन सदस्य, युरोप क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय पदाधिकारीहरूलाई समितिको पदेन सल्लाहकारको जिम्मेवारी प्रदान गरी एक बृहत आयोजक कमिटी गठन गरिएको बताइएको छ । यस समितिको सदस्यसचिवको जिम्मेवारी विगतको परम्परालाई निरन्तरता दिँदै आयोजक राष्ट्रका अध्यक्ष राजकुमार पाठकलाई दिइएको समेत विज्ञप्तिमा उल्लेख छ ।

संयोजकद्वयद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ- ‘गैरआवासीय नेपाली सङ्घको पछिल्लो कठिन परिवेशमा हाम्रासामु थुप्रै चुनौतीका पहाडहरू छन्, एकातर्फ हाम्रा आफ्ना कार्यक्रमहरूको निरन्तरताका सवालहरू छन् भने अर्कोतर्फ सामुहिक एकताको आवश्यकता पनि छ । सङ्घले आजका दिनसम्म आर्जन गरेको विश्वासको वातावरणलाई जोगाउनुपर्ने आवश्यकता आज हाम्रासामु छ । यस्तै चुनौतीहरूका चाङका बाबजुद गैरआवासीय नेपालीको एकता र सहकार्य नै आजको अपरिहार्यता रहेको हामीले महसूस गरेका छौँ । यसैलाई गन्तब्यमा पुऱ्याउनु हामी सबैको जिम्मेवारी हो भन्नेमा कुनै शंका नभएको समग्र एनआरएनहरूको बुझाइ छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ- ‘यसै एकता तथा सहकार्यलाई सङ्घले अङ्गीकार गरेको उद्देश्यमा पु¥याउनका निमित्त समयाक्रममा गैरआवासीय नेपाली सङ्घलाई यसले आफ्नो स्थापनाकालदेखि लिएर हिँडेको कार्यदिशालाई परिवर्तन नगरी आवश्यकताअनुसार सामान्य रुपान्तरण गरेर अगाडि बढ्नुपर्ने अभीष्ट यससँग आवद्ध रहिआएका समस्त व्यक्ति, समूह र यसमा सहकार्य एवम् हातेमालो गरिरहेका निकायहरूमा रहेको हामीले अनुभूति गरेका छौँ । सोही रुपान्तरणको दिशामा सङ्घलाई लैजानका निमित्त यस सम्मेलनले मार्गचित्र कोर्ने हाम्रो विश्वास रहेको पुनः विश्वास दिलाउन चाहन्छौँ । यसै रुपान्तरणको सिलसिलालाई सुरुवात गर्नका निमित्त हामीले युरोप क्षेत्रिय भेलाको मुख्य नारा ‘Partnership in Action for Transformation’ तय गरेको जानकारी गराउँदछौँ ।’

‘गैरआवासीय नेपाली सङ्घ नेपाल सरकारको सच्चा साझेदार हो भने नेपाल र नेपालीहरूको विश्वास पनि हो । हामी हाम्रा सबै गतिविधि र कार्यक्रममा समस्त निकाय, संस्था र सरोकारवालाहरूसँग परिणाममूखी सहकार्य गर्न चाहान्छौँ । हाम्रा गतिविधिहरू रूपान्तरणको निम्ति केन्द्रीत गर्न चाहान्छौँ । हामी यसपटकको क्षेत्रिय भेलाका हरेक कार्यक्रमभित्र युवा र महिलाको भूमिका एवम् सहभागिता खोज्नुका साथै कार्यक्रमका सबै विषयहरूको आवश्यकता, समस्या तथा समाधानको बारेमा छलफल गर्नुका साथै त्यसबाट आएको निश्कर्षलाई ब्यवहारिक जीवनमा रूपान्तरणको प्रयासका लागि प्रयत्नशील छौँ । हाम्रो विश्वास छ- नाराजस्तै कामबाट पनि हामीले गैरवासीय नेपालीजनको भावनालाई समेट्ने छौँ ।’

‘हामीले आयोजना गर्ने हरेक गतिविधिलाई समग्र गैरआवासीय नेपालीहरू समक्ष पुऱ्याउन र हाम्रा हरेक क्रियाकलापलाई पारदर्शी बनाइ यहाँहरूलाई जानकारी गराउने उद्देश्यले हामीले एक मेडिया टिम गठनसमेत गरेका छौँ, उक्त टिमको संयोजन गैरआवासीय नेपाली सङ्घ युरोप क्षेत्रका उप-संयोजक सागर सुवेदीले गर्नुभएको जानकारी समेत यहाँहरूलाई गराउन चाहन्छौँ ।’