काम हुन्जेल भाँडो, काम सकियो… !

काम हुन्जेल भाँडो, काम सकियो… !


  • स्वयम्भुनाथ कार्की

किंवदन्ती छ- ताजमहल बनिसकेपछि बादशाहले त्यो ताजमहल बनाउने कारिगरको हात काट्न लगाएका थिए रे । आफूले सफलता हासिल गरेपछि त्यो सफलताको बाटोबाट अरु कोही नआउन् भनेर त्यसलाई बन्द गर्ने प्रवृत्ति तानाशाही हो । सर्पले सर्पको खुट्टा देख्छ भन्ने भनाइमा वैज्ञानिक तथ्य नभए पनि लाक्षणिक रूपमा यो भनाइ खुब चलेको छ । आफूले सफलता हासिल गरेको बाटो बन्द गर्न खोज्नुले आत्मविश्वासको कमी देखाउँछ । आफ्नो स्थान खोसिने डरले थर्कमान भएर देवराज इन्द्रले अरुको तपस्या जसरी भए पनि भङ्ग गर्ने काम गरेको कुरा हरेक पुराणमा पढ्न पाइन्छ । सत्तामा टाँसिइरहन आफूले प्रयोग गरेको भऱ्याङ भाँच्ने काम आजको नेपालका राजनैतिक ठालुहरूको प्रमुख काम भएको छ ।

राल्फाका गीतहरूले नेपालका सत्तास्वाद चाखिसकेका वामपन्थीहरूलाई तर्साउँछन् । छलफल, बहस आफैलाई प्रजातन्त्रको पर्यायवाची घोषणा गर्नेहरूलाई तर्साउने बस्तु भएका छन् । निर्वाचनको नामले त झन् सातो नै जान्छ । पत्रकारहरूलाई आफ्नो हितको निमित्त मिसन पत्रिकारिता गर्न प्रेरित गर्नेहरू नै अहिले सञ्चार जगत् जिम्मेवार नभएका फलाको फलाक्दैछन् । कलिला केटाकेटीलाई कखरादेखि नै आफ्नो राजनैतिक सिद्धान्तले ब्रेनवास गर्नेहरू विद्यालय राजनीतिमुक्त हुनुपर्छ भनेर अर्ती दिन व्यस्त छन् । शिक्षकहरूको काँधमा बन्दुक राखेर पुरानो सत्ताका सिकार गर्नेहरू, विद्यार्थीलाई शिक्षा दिने काममा नियुक्त भएर पढाउन भन्दा राजनीतिमा लागेर वर्तमानमा नेपालका चर्चित नेता भएकाहरू नै शिक्षकलाई शिक्षणबाहेक अरु काममा लाग्न नदिने कानूनको वकालत गर्दैछन् । यो आलेखको विषयवस्तु त्यसो गर्नु ठिक हो वा हैन भन्ने बारेमा विवेचन गर्नु होइन, केवल आफूले गर्दा महान् र अरुले गर्दा गर्न नहुने काम भन्ने प्रवृत्ति औँल्याउनु मात्र हो ।

गणेशमान सिंहको निवास चाक्सीबारीमा भएको पञ्चायत विस्थापन गर्ने अधिवेशनमा भारतीय नेता चन्द्रशेखरले नेपालमा दुई सयभन्दा ज्यादा दल हुनुपर्ने कुरा गरेका थिए । कुरा सही वा गलत के थियो त्यो आफ्नै ठाउँमा होला, तर त्यसै कुरालाई राजनैतिक स्वतन्त्रता हो भनेर आन्दोलन भयो । दलविहीनताको अन्त्य भयो । त्यसैको जगमा स्थापना भएको बहुदलिय ब्यवस्थामा दलहरूको सङ्ख्याले नेपालमा दुई सयभन्दा धेरै दलको क्षमता छ र त्यो हुनुपर्छ भनेर आन्दोलन हाँक्नेहरूलाई प्रतिनिधिसभामा दलहरूको अधिकता र त्यसले पैदा गरेको त्रिशंकु सरकारहरूको अस्थिरताले पोल्न थाल्यो । आपसी झगडामा कहिले मुलुकमा सशस्त्र विद्रोह जन्म्यो त्यो पत्तै भएन । बहुलवादको आफ्नो सिद्धान्त र त्यसलाई संस्थागत गर्ने विश्वको उत्कृष्ट भनेर आफैले बारम्बार भनेको संविधान पन्छाइयो ।

राजतन्त्रको बली चढाएर आफ्नो राजनैतिक सिद्धान्तको हारलाई बचाउने कोशिस निरर्थक भएको छ । अब दलहरूको सङ्ख्या कमभन्दा कम गर्न चुनावमा थ्रेसहोल्ड चाहिएको छ । बहुलवाद उनीहरूलाई नै ‘ठाँडो’ भएको छ जो हरहमेसा बहुलवादको जपना गर्दछ । संविधानसभाको चुनाव गर्दा हरेक समुह तथा वर्गको प्रतिनिधित्व गराउने नाममा सबैलाई अटाउन समानुपातिक निर्वाचन पनि थप गर्दा त्यस कामको खुबै प्रशस्ति गाइएको थियो । ६ सय एक संख्यालाई अग्रगामी भनेर भन्न दिएको तर्कमा समावेशी अहिले पनि कर्णप्रिय र लोकप्रिय छ । त्यही कर्णप्रियताको निरन्तरताले समानुपातिक सदस्यहरूको निर्वाचन हुने परिपाटी यो संविधानले अङ्गीकार गरेको छ । तर यो व्यवस्था अहिलेलाई संसद्मा बहुमत प्राप्त गर्न र गरे पनि कायम राख्न बाधक भएको छ । त्यसैले प्रमुख मानिएका दलहरूको एक्लै निर्वाचनको सामना गर्ने हिम्मत छैन । जस्तो भए पनि जोसँग भए पनि गठबन्धन गर्नु परेको छ ।

जुन कलिला बालबालिकामा संस्थापनाविरुद्धको कुरा कोचाइएको थियो तिनै आज वयस्क भएका छन् । शिशुकालमा थोपरिएका मान्यताबाट बाहिर निक्लन नसकेर निराशाको खाडलमा जाकिँदैछन् । उनीहरूले अर्को बाटो देखेका छैनन् । संस्थापनको विरोध संस्कार भएकोले गर्दा संस्थापनको विरोधलाई अग्रगामी काम नै सम्झन्छन् । आफ्ना नेताहरूले जे-जे भन्यो त्यही मात्र ध्रुवसत्य हो अरु सबै असत्य हो भन्ने कुरा मस्तिष्कबाट निकाल्न नसक्नाले जहाँ मौका पायो त्यहीँ आफ्नो असन्तुष्टि पोख्ने गर्दछन् । सकारात्मक सोच विकास नै हुन नपाएकाले कुहिराको काग भएका यस्ता वयस्कहरूको कुण्ठाले किशोरहरूमा आजका संस्थापनको विरुद्ध आक्रोश पैदा हुँदैछ । यो आक्रोश रोक्न आफूले आक्रोश पैदा गराउन प्रयोग गरेको भाँडोलाई ठाँडो बनाएर आफल्नुपर्ने एक मात्र बाटो देखेका छन् ।

ताजमहल बनाउने कारिगरको हात काटेझैँ त्यो बाटो बन्द गर्ने कामको सिलसिला शुरु भएको छ । सर्पले सर्पको खुट्टा देख्छ, त्यसैले आफूले प्रयोग गरेको बाटो आफै जानकार छन् । अहिलेका हास्यास्पद निर्णयहरू त्यही आफूले चढेको भऱ्याङ भाँच्ने अभियान हो । तर यिनको सर्वनासले अरु बाटो पनि पक्रन्छ जो स्वाभिमानको रक्षा राष्ट्रवाद अनि नेपाली-नेपाली बीचको प्रेमको रूपमा आउँदै छ । यसलाई रोक्ने सामर्थ्य कसैको हुने छैन ।