प्रकाश सपुतको मन खिन्न भएको त्यो साँझ

प्रकाश सपुतको मन खिन्न भएको त्यो साँझ


  • राजन घिमिरे, अष्ट्रेलिया

पहिलाको दाँजोमा एउटा वर्ग, तह र तप्काको सङ्ख्या कमै होला, तर पनि निमिट्यान्नै भएको भने छैन । जुन वर्ग लोकगीत-संगीत र यो विधामा लागेकाहरूको सफलता तथा प्रस्तुतिप्रति खुलेर तारिफ गर्न त के ताली बजाउन पनि कन्जुस्याइँ गर्छन् । अवस्था यस्तो छ र पनि लोकगीत-संगीत विधामा लागेका केही स्रष्टाहरूले भने यो विधामार्फत आफ्नो क्षेत्रलाई दिएको उचाइ, उनीहरूले हात पारेको वाहवाही र स्यावासीको जति तारिफ गरे पनि कमै हुन्छ ।

प्रसङ्ग र चर्चा गायक प्रकाश सपुतको हो । पछिल्लो समय लोकविधामा प्रकाशले छरेको प्रकाश एवम् रापले साँच्चै सदनदेखि सडक तात्यो । आफ्नो प्रस्तुतिमा जीवन र जगतको भोगाइलाई देखाउन सक्नु उनको अर्को बलियो शैली मानियो । उनको पक्षमा वकालत कसले गरेन र ! देशदेखि विदेशसम्म रहेका उनका प्रशंसकहरूको ओइरो नै लाग्यो । सपुतको यो उपस्थितिले उनलाई नाम र दामसँगै देशदेखि विदेशसम्म थप फैलाइदियो । नेपालका मूलधारका टेलिभिजनमा लोकगीत-संगीतमा लागेकाहरूको अन्तरवार्ता आउनु भनेको कल्पना मानिन्थ्यो ।

तर त्यो भ्रम तोड्न सफल भए प्रकाश सपुत । चर्चा, सफलता, लोकप्रियता र वाहवाही चरमचुलीमा पुऱ्याएका प्रकाश सपुतले गत साता अष्ट्रेलियामा आफ्नो साङ्गीतिक प्रस्तुति दिँदा उनको प्रस्तुति हेर्न उपस्थित दर्शकहरूको सङ्ख्या देखेपछि यो पंक्तिकारको मन खिन्न भएकै हो । सायद प्रकाश सपुतको पनि भयो होला, उनले ब्यक्त त गरेनन् यो उनको महानता हो । तथापि उनको तारिफ गरेर नथाक्ने सिड्नीवासी उनका प्रशंसकहरूको मन भने घोच्यो नै । ‘यही हो त प्रकाश सपुतको क्रेज ?’ – उनीहरू प्रश्न गर्दै थिए । यसमा दोष कसको ? अवश्य पनि प्रकाश सपुतको होइन । आयोजकको पनि होइन । आयोजकले पनि भरपूर प्रचारप्रसार गरेकै हो । कार्यक्रमको आधार र मुटु प्रकाशलाई नै बनाएको हो । विश्वासका साथ दर्शकहरू बढी आउँछन् भनेर ठूलै हल लिएकै हो, तर दर्शकको कमी भयो । यसले सिड्नीमा कार्यक्रम आयोजकहरूलाई सोच्न बाध्य भने बनाएकै छ ।

त्यसो त हरेक साता उही प्रकृति र उस्तै कार्यक्रमहरू हुनाले पनि यस्तो अवस्था आएको हुन सक्ने भुक्तभोगी आयोजकहरूले बताएका छन् । त्यही दिन पनि प्रकाशसँगै अन्य कार्यक्रम जुधेकै हो । कार्यक्र जुधाइको मारमा पनि पऱ्यो अनि आयोजक एवम् प्रकाश पनि मारमै परे । जे होस्, जतिलाई प्रकाशले नचाए वा मनोरन्जन दिए, त्यसमा उनि कतै पनि चुकेका छैनन् । उनले आफ्ना प्रस्तुति दिन कतै धर्म छोडेका छैनन् । आफ्नो कर्ममा कत्ति कञ्जुस्याइँ देखाएका छैनन् ।

हामीले प्रकाश सपुतको योगदान, क्षमता, दक्षता र प्रतिभालाई चिनेनौँ कि ? कि हामीले हल्काफुल्का प्रस्तुतितिर अल्मलिएर वजनदार, साख भएका र प्रतिभामा पनि केही अर्थ राख्नेको प्रतिभा बुझ्न सकेनौँ कि ? यो कुरा जिज्ञासा पनि आएको छ यतिखेर । सिड्नीको हर्सभिलमा रहेको मरना अडोटिरिएममा भएको कार्यक्रममा प्रकाश सपुतलाई हेर्न आएका दर्शकहरूको संख्या लेख्न पनि यो पंक्तिकारलाई अप्ठ्यारो लागिरहेको छ । मनै मानिरहेको छैन । उनको ख्याति र योगदानको अवमूल्यन त भएन ? आगामी दिनमा प्रकाश सपुतको कार्यक्रम सिड्नीमा भयो भने सायद प्रकाश र आयोजक दुवैले सोच्नुपर्ने अवस्था भने आएकै छ ।

यस्तो अवस्था हुँदा पनि प्रकाशले स्टेजमा उत्रेर जुन जोश, जाँगर र हौसलाले आफ्ना प्रस्तुतिहरू दिए, त्यसले सिड्नीमा रहनुहुने प्रवासी नेपालीहरू माझ उनको वजन, शान र मान झनै बढेको छ । कार्यक्रममा जति आए त्यतिलाई पनि हजारौँले पाउने मनोरन्जन दिन सक्नु पनि प्रकाशको महानता थियो । शालिन, सभ्य, भद्र र मिजासिला प्रकाशले यसबारे कतै केही गुनासो नगरेता पनि लोक गायन विधामा उनले दिएको योगदान, निरन्तरता र समग्र लोकविधा उनको कारणले पनि जन-जनमा पुगेको यथार्थतालाई नजिकबाट नियालेको अनि बुझेको कारणले पनि पंक्तिकारले उपरोक्त पङ्क्ति कोर्ने कोशिश गरेको हो ।’