तीज जात्रा !

तीज जात्रा !


  • अर्जुनराज पन्त

ब्यङ्ग्य कविता

लुतो फाल्न पाएको छैन तीज पो शुरु भयो !
हेरेनन् कि क्यालेन्डर या चाड नै अघि गयो ?

जन्माष्ठमी आएसँगै तीज पो लाउथ्यो पहिले !
यति चाँडै आउन थाल्यो के भएर अहिले !

जन्मे कि खै अर्का कृष्ण असारैमा फेरि ?
मनायौ कि तीजलाई फेरि त्यही तिथीलाई हेरि ?

टोल–छिमेकमा पार्टी चले गीत नि गाइसके
फेसबुक र मिडियामा तिनै छाइ सके !

असारेगीत सुन्ने याममा सुन्छु तीजका गीत !
उल्टियो कि कोल्टे पर्यो चाडबाडको रीत ?

बिराला र पिराला रे गीत नि कस्ता–कस्ता !
क्यारी होला सुन्नी हेर्नी परिवारमा बस्दा !

तीजका गीतमा पहिला हुन्थे मात्र नारी–ब्यथा
अहिले आए गहना र फरियाका कथा !

गीतका शब्द कस्ता हुन् ती फरिया त्यो सर्नी
झनै माथि तान्न खोज्दा झनै तल झर्नी !

दुइ अर्थी शब्द राख्छन् तिनै मात्र बिक्छन्
शब्दकोष नै खोतलेर त्यस्तै शब्द झिक्छन्

सँस्कृति नै छाडा आयो धप्पै बल्यो कली
तीजको गीतको शीर्षक हरे ख्याँस्स पुतली !

उमेर हदको सीमा तोक तीजका गीतमा पनि
वयष्कले मात्र हेर्नु तीजको यो गीत भनी !

रत्यौली र दोहोरी गीत भए तीजका गीत
बिर्सिए त्यो रीतिस्थिति फेर्दिए त्यो रीत !

महिला मात्र जम्मा भइ नाचगान गर्थे पहिले
लूठो न’भा तीजका गीतचाहिँ आउन छाडे अहिले !

बहुरुपी बहुरङ्गी आ’छन् लूठा बनि
बीच–बीचमा हामी पनि नाँच्नुपर्छ भनि

नर हुन् कि नारी हुन् ती चिन्नु पनि क्यारी ?
मुहारभरि दाह्रीजुङ्गा हरमा ला’छन् सारी !

सँस्कृति कि बिकृति हो चिन्न गाह्रो आज
पहिरन पनि उस्तै अझै छैन शर्म लाज

कहाँ गए तने चोली कठै आजभोलि
औतारी त्यो टालो लाछन् पिठ्यु पूरै खोलि

त्यत्रो छाती ढाक्न कठै चार अँगुलको टालो
बाक्लो हो र त्यहि नि अझ माकुराको जालो !

उल्टो मति भएपछि उल्टै लुगो आयो
अगिल्तिर लाउनि बटन पछिल्तिर लायो

साना छन् बच्चाबच्ची काममा गा’छ पोइ
यस्सो बुलोज लाइदेउ भन्ने छैनन् घरमा कोही !

न त मिल्ने एक्लै लाउन न त मिल्ने खोल्न
माफ गर्दिनु चेलीबेटी बाध्य भएँ बोल्न

ओल्लो घर र पल्लो घर धा’छन् गुहार माग्न
किन रै’छ भनेको त रै’छ ब्लाउज लाउन !

हत्य नै पो भयो कि खै त्यस्तै नाच्न थाले
पेटिकोटमै नाच्न थाले सारी बुलुज फाले !

तीजका पार्टी कति–कति खाने चिज नि अति
मासुमाथि मदिरा छ पिउन सके जति

तीजको दरमा आज कठै आयो मासु जाँड !
तीज हो कि हो यो कतै गहनाको चाड ?

खुवाउन भनि जानैपर्ने चेलीबेटी लिन
आज आयो अर्को घाँडो तिन्लाइ पुर्यााइदिन !

खुट्टा धान्न नसकेर टेक्छन् हातले पनि
चारखुट्टे नृत्य गर्छन् पशु समान बनि

मदिरामा लठ्ठीएका लड्लान् कतै भनि
घरै लगि बुझाउ तिन्लाइ अर्को जिम्मा पनि

गहनाको प्रदर्शनी धाकको प्रतिष्पर्धा
आफ्नै ज्यानलाइ जोखिम पारि चोरलाई निम्ता गर्दा

काँहा जाँदो हो बुद्धिविवेक पढेकैको पनि
तीज लाएसि मेसै पाउन्नन् केले अन्धो बनि ?

के आनन्द दिन्छ त्यसले के नै राम्रो पार्छ
लुटेराले लुट्न त्यहि ज्यानै पनि मार्छ

सजिला नि हुन् र अझ गहना नि कस्ता
तीखा चुच्चा उम्रिएका बनका काँडा जस्ता !

न त दिन्छ शितल कतै न त हर्छ जाडो ?
बिनासित्तै हत्य गरि भिर्छन् त्यस्तो घाँडो

पिठ्यु ढोक्ने टालो छैन छड्के पोते क्यार्नि ?
घुँडासम्मै लत्रिएको क्यारी होला स्यार्नी !

कुन मन्तरको जन्तर हो त्यो लायौ तिम्ले अनि
त्यो लाए’सी छुट पाइन्छ कि जे गरे नि भनि ?

झुम्का पनि अचम्मैका रामलीलाका अरे
तिम्रा लीला देखेर कि राम नि दङ्ग परे !

तिम्रा धनको तिम्रै मर्जी जे–जे खाउ गर !
बिन्ती छ है नभन्देउ है यसलाई तीजको दर !

  • बागलुङ, मुलपानी