जापानका पूर्वप्रधानमन्त्री आबेको हत्यामा युनिफिकेसन चर्चको के सम्बन्ध ?

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्यामा युनिफिकेसन चर्चको के सम्बन्ध ?


प्रधानमन्त्री किशिदा पनि सन्देहको घेरामा !

  • विशेष प्रतिनिधि, टोकियो (जापान)

गत जुलाई ८ तारिखका दिन जापानका पूर्वप्रधानमन्त्री आबेको गोली प्रहारबाट हत्या भएपछि संदिग्धले दिएको बयानपश्चात एकाएक बहसमा आएको पूर्व एकीकृच चर्च (युनिफिकेसन चर्च)ले यतिखेर जापानको संसद् हल्लाइरहेको छ ।

युनिफिकेसन चर्चमा आफ्नी आमाले ठूलो धनराशि दान गरेको कारण टाट पल्टिएकोले उक्त धार्मिक संघसँग आफ्नो विमति रहेको र आबेको पनि त्यस धार्मिक समूहसँग निकटतम् सम्बन्ध रहेकाले हत्या गर्न चाहेको घटनास्थलबाट पक्राउ परेका संदिग्धले प्रहरीसँगको बयानमा बताएका थिए । सोही आधारमा छानविन गर्दा बहालवाला मन्त्रीहरुको पनि उक्त धार्मिक संघसँग सम्बन्ध रहेको भेटिएपछि यही महिना प्रधानमन्त्री किशिदाले मन्त्रिमण्डल नै पुनर्गठन गरे ।

किशिदाले मन्त्रिमण्डल पुनर्गठन गर्नुअघि उक्त चर्चसँग सम्बन्ध भएकाहरुलाई नसमेट्ने आशय व्यक्त गरेका थिए । तर जब मन्त्रिमण्डल गठन भयो, तब राजनीतिक चेत भएकाहरु सबै छक्क परे । किनकि भर्खरै गठन भएको नयाँ मन्त्रिमण्डलमा मनोनित भएकामध्ये ११ जनाको उक्त चर्चसँग सम्बन्ध खुलासा भएको छ ।

त्यसैमध्येका एक मन्त्री यामागिवा दासिरोको यतिखेर जापानी संचारमाध्यमहरुमा व्यापक चर्चा चलिरहेको छ । किनकि वर्तमान आर्थिक पुनरुत्थान मन्त्री रहेका यामागिवा उक्त चर्चको धार्मिक सभाहरुमा भाग लिन विश्वका विभिन्न मुलुकहरुमा समेत पुगेको खुलासा भएको छ । अन्यत्रको कुरै छोडौँ, जापानबाट ५ हजार किलोमिटरभन्दा टाढा रहेको नेपालमा समेत पुगेर यामागिवा पुर्वयुनिफिकेसन चर्च (हालको फेडेरेसन फर वर्ड पिस एन्ड युनिफिकेसन)को धार्मिक सभाहरुमा सहभागी भएको जापानी संचारमाध्यमहरुले समाचार प्रकाशन गरेका छन् ।

त्यस्ता धार्मिक संघहरुसँग निकट रहेर निर्वाचनहरुमा प्रत्यक्ष सहयोग लिइ संसद्मा पुगेकाहरुलाई बचाउ गर्दै मन्त्रिमण्डल राखेको भन्दै प्रधानमन्त्री किशिदाको समेत आलोचना बढेको छ ।