फिलिपिन्समा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु, भारतमा सङ्क्रमणमा कमी

फिलिपिन्समा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु, भारतमा सङ्क्रमणमा कमी


फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घन्टाको समयावधि अर्थात आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र तीन हजार ६ सय ४३ जनामा कोरोना सङ्क्रमण भएकोे छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ ।

यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजार भन्दा बढीमा सङ्क्रमण रहेको थियो ।

त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमितहरु घटेका भए पनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको देखिएको स्वास्थ्यअधिकारीहरुले जनाएका छन् ।

भारतमा सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम

भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात् आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोराना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा ११ हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखापरेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार छ सय ४८ जना रहेका छन् ।

गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार तीन सय ६८ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।