सरकार हुँ म !

सरकार हुँ म !


  • चन्द्रभुषण साह

देशी विदेशी दलालसामु सधैँ घुँडा टेक्नैपर्ने लाचार हुँ म
राष्ट्रिय स्वाधीनताको रक्षार्थ पनि अघि नसर्ने धिक्कार हुँ म
जनता कुट्ने देशको ढुकुटी लुट्ने परम्पराको सिकार हुँ म
तरपनि जनतालाई वेवकूफ बनाउन सफल चमत्कार हुँ म !

असहाय अबलाको दरकार नसुन्ने कस्तो दुत्कार हुँ म ?
सधैं आफ्नै देश र जनतालाई झुक्याउने चित्कार हुँ म
कौडीमा किनेर करोडौँमा बेच्ने घाटाको व्यापार हुँ म
आफ्नै कानको सुन पनि नचिन्ने खै कस्तो सुनार हुँ म !

आँखैअगाडि सिमाना मिच्दा पनि नदेख्ने अन्धो हुँ म
दिनहुँ बढ्ने महँगी, लुट र भ्रष्टाचार नदेख्ने रतन्धो हुँ म
किनकि कर र कानूनको आडमा मनपरी गर्न जानकार हुँ म
आफ्नै देशको जनता ठग्दै हिँड्ने छद्मभेषी मक्कार हुँ म !

पीडि़तको घाउँमा मल्हमको सट्टा पोल्ने पिरो अचार हुँ म
समाज, देश र जनताको सेवक नामक झूठा प्रचार हुँ म
आफ्नै देशमा बदलाव र विकास गर्न नसक्ने विकार हुँ म
हो.. संविधान नमान्ने ७६१ ओटा संवैधानिक सरकार हुँ म !